बागमति प्रदेशको पर्यटन विकासका सम्बन्धी विधेयकबारे छलफल

भक्तपुर, साउन २०
बागमति प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले बुधवार काठमाण्डौं उपत्यकाका प्रमुख तथा उपप्रमुखहरुस ‘प्रदेश पर्यटन विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बारे छलफल गरेको छ ।
सो छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताले अपनत्व नस्वीकारेको कानून दीगो हुन नसक्ने बताउनुभयो । उहाँले संघीयतामा कानून निर्माण गर्दा स्थानीय तहलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
‘स्थानीय तहलाई अलग गरी प्रदेशले मात्रै काम गर्न खोजे विधेयक असफल हुन सक्छ, उहाँले भन्नुभयो । उहाँले समितिले प्रस्तुत गरेको मस्यौदा विधेयकले स्थानीय तहहरुले जिम्मेवारीपूर्वक काम गरिरहेको बारे सोच्न नसकेको आरोप लगाउनुभयो ।
स्थानीय तहले स्वीकार नगरेको कुनै पनि कानून कार्यान्वयन हुन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, पर्यटन प्रवद्र्धनको लागि प्रदेशले स्थानीय तहलाई आवश्यक सहयोग गर्नुपर्ने तथा स्वदेशी र विदेशी पर्यटन प्रबद्र्धनको लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिका हुनुपर्छ ।
छलफलमा शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले विधेयकमा काठमाण्डौँ उपत्यका भित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको संरक्षण गर्ने उल्लेख हुनुपर्ने सुझाव दिनुभयो । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले संघ, प्रदेश र स्थानीय तहमा राजश्व कर दोहोरिने समस्या रहेकोले सजग हुनुपर्ने बताउनुभयो ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धब प्रसाद खरेलले पर्यटन व्यवसायमा साना–ठूला गरी सबै तहका व्यवसायलाई विधेयकमा समेट्नुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धितालले विधेयकले औद्योगिकीकरण र व्यापारीकरणमा जोड दिएको बताउँदैं साँस्कृतिक क्षेत्र छुटेकोले उल्लेख हुनुपर्ने सुझाव दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले व्यवसाय दर्ता गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने माग गर्नुभयो । दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङले पर्यटन भित्र धार्मिक, राजनैतिक, ऐतिहासिक र साँस्कृतिक पक्षहरु समेटिने हुँदा सर्वसाधारण जनताको हितमा विधेयक निर्माण हुनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा समितिका सभापति रमा आलेमगरले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै विधेयकलाई १३ वटै जिल्लाका स्थानीय स्तरमा क्रमशः चरणबद्ध रुपमा छलफल गर्दै भदौको दोस्रो हप्तामा अन्तिम रुप दिई प्रदेश सभामा प्रस्तुत गरिने जानकारी दिनुभयो ।
समितिका सदस्य नरोत्तम बैद्यले बागमती प्रदेशले विभिन्न ५ वटा समिति मार्पmत ६३ वटा विधेयक निर्माण गरी सकेको जानकारी दिँदैं नेपालको संविधान २०७२ मा पर्यटनको नीति बनाइने उल्लेख भएको सन्दर्भमा प्रस्तुत पर्यटनसम्बन्धी विधेयक संघ, प्रदेश र स्थानीय तहको समन्वय विना पूर्ण नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य एवं पर्यटन उपसमितिका संयोजक कुसुम कुमार कार्कीले विधेयकसम्बन्धी प्रस्तुतिकरण गर्दै विधेयकको प्रमुख साझेदार स्थानीय तह रहेकोले यसमाथि व्यापक छलफल गरी ६ वटै प्रदेशको लागि नमूनायोग्य विधेयक बनाउनुपर्नेमा बताउनुभयो ।