टोकियो ओलम्पिक – पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने

भक्तपुर, साउन २०
टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णको लागि फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन् । स्पेनले मंगलवार सम्पन्न सेमिफाइनलमा आयोजक जापानलाई र ब्राजिल मेक्सिकोलाई टाईब्रेकरमा पराजित गर्दै स्वर्ण भिडन्तको लागि स्थान पक्का भएको हो ।
स्पेनले स्वर्ण भिडन्त पक्का गर्ने क्रममा आयोजक जापानलाई १–० ले पराजित गर्यो । स्पेनको जितमा मार्को एसेन्सियोले निर्णायक गोल गरे । उनले अतिरिक्त समयको ११५ औं मिनेटमा गोल गरेका थिए ।
त्यसैगरी ब्राजिलले मेक्सिकोलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै ओलम्पिक फुटबलको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन ।
ब्राजिलका लागि कप्तान ड्यानी आल्भेसले पहिलो प्रहार नै गोलमा परिणत गरेका थिए । त्यसपछि मेक्सिकोका एडुआर्डो अगिएरको प्रहार गोलरक्षक अबेर्दार सान्तोसले विफल पारे । ब्राजिलका ग्याब्रिएल मार्टिनेलीले दोस्रो प्रहारमा गोल गर्दा मेक्सिकोका जोहान भास्केजको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।
त्यसपछि ब्रुनो गुइमारेसले गोल गर्दै ब्राजिललाई जितको संघारमा पुर्याए । मेक्सिकोका कार्लोस रोड्रीग्वेजको प्रहार गोल भएपनि त्यसपछि रेनिएरले गोल गर्दै ब्राजिललाई फाइनलसम्म पुर्याए ।