भक्तपुरमा गतवर्ष ३७८ क्षयरोगी थपिए

भक्तपुर, साउन १६
भक्तपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा ३७८ जना क्षयरोगका बिरामी उपचारको दायरामा आएका छन । ती मध्ये १७० जना महिला र २०८ जना पुरुष छन ।
उपचारका दायरामा आएका बिरामीहरु मध्ये पल्मोनरीतर्फ महिला ८३ र पुरुष १२५ गरी २०८ जना छन भने एक्स्ट्रा पल्मोनरीतर्फ महिला ८७ र पुरुष ८३ गरी १७० रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको ४२ औं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित क्षयरोगको वर्तमान अवस्था र न्यूनिकरणमा हाम्रो प्रयास विषयक अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएको हो ।
कार्यक्रममा संस्थाका भक्तपुर अध्यक्ष पुष्पलाल तिमिलाले नेपालमा कुल जनसंख्याको आधा जनसंख्या क्षरोगकाबाट संक्रमित भएको अनुमान गरिएको जानकारी दिनुभयो । हालै गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा प्रत्येक वर्ष ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान गरिएको उल्लेख गर्दै तिमिलाले नेपालमा वर्षेनी ५ देखी ७ हजार मानिसको मृत्यु क्षयरोगका कारण मृत्यु हुने गरिएको जानकारी दिनुभयो ।


उहाँले भक्तपुरमा क्षयरोगको निवारणका लागि संस्थाले समुदायमा आधारित, प्रचारात्मक र उपचारात्मक गरी तीन प्रकारका सेवा दिँदै आइरहेको जानकारी दिनुभयो । समूदायमा आधारित कार्यक्रम अन्तर्गत स्थानीय टोलबासी, पिछिडिएका वर्ग, सहकारीकर्मी, विद्यालयका शिक्षक विद्यार्थी र विभिन्न समूदायलाई अभिमुखीकरण गरिएको उहाँले बताउनुभयो । त्यस्तै उपचारात्मकतर्फ डट्स क्लिनिक सञ्चालन, खकार परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको र प्रचारात्मकतर्फ चित्रकला, वक्तृत्वकला प्रतियोगिता, पर्चा, ब्रोसर, पम्पलेट प्रकाशन, रेडियो जिंकगल, सडक नाटक प्रदर्शनलगायतका कार्यक्रम गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तैगरी क्षयरोग निवारणमा अग्रणी भूमिका निर्वाह गर्ने समाजसेवी, पत्रकार र स्वयमसेवीहरुलाई प्रोत्साहनस्वरुप सम्मान र नगदसहितको पुरस्कार प्रदान गर्दे आइरहेको अध्यक्ष तिमिलाले बताउनुभयो ।
उहाँले आगामी दिनमा संस्थाले स्थानीय तहका वडातहसम्म स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, क्षयरोगी र उनीहरुका परिवारको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी लुकेर बसेका क्षयरोगीहरुलाई उपचारको दायरामा ल्याउने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत एवम् स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बिरामीको निगरानी गर्ने संयन्त्र कमजोर हुँदा क्षयरोगीहरु हराउने गरेको र उनीहरुलाई अन्यलाई समेत सार्ने खतरा रहेको बताउनुभयो ।
उहाँले जोखिम समूह पहिचान गरी कार्यक्रम तल्लो तहसम्म लैजानुपर्ने, क्षयरोग निवारणमा सक्रिय संस्थाहरुबीच एकिकृत कार्यक्रमको खाँचो रहेको, बिरामीलाई उपचारसँगै पोषणको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
कोरोना महामारीका बेला क्षयरोगीहरुलाई नियमित औषधी सेवनको निगरानीको लागि कम्यूनिटी डट्स वा फेमिली डट्स अवधारणा लागु गर्नुपर्नेमा मिजारले जोड दिनुभयो ।
नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष मदनबाजी श्रेष्ठले क्षयरोग मुक्त समाज, गाउँ, नगर र नेपाल बनाउन समूदायलाई परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि अध्ययन अनुसन्धान र कार्यशाला गोष्ठीहरुको निष्कर्ष कार्यान्वयन नहुँदा क्षयरोग निवारणका लक्ष्य हासिल गर्न नसकिएको गुनासो गर्नुभयो ।
राष्ट्रिय क्षयरोग केन्द्रका डा. धनञ्जय अर्यालले ठूला अस्पतालहरुले परीक्षण र उपचारलाई प्राथमिकता नदिएका कारणपनि क्षयरोगलाई न्यूनिकरण गर्न नसकिएको बताउनुभयो । उहाँले क्षयरोगका भुसको आगो झैं समाजमा फैलिरहेको र भित्रभित्रै यसको संक्रमण बढ्दो रहेको हालैको प्रिभ्यालेन्स सर्वेक्षणले देखाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै केन्द्रकै डा. सन्तोष मानन्धरले क्षयरोगको सहज उपचारका लागि सबै सरकारी अस्पताल र ठूला अस्पतालहरुका खकार परीक्षण लगायत उपचार सेवा बिस्तार गर्नुपर्ने बताउनुभयो ।
उहाँले लकडाउन र निषेधाज्ञाले क्षयरोगका बिरामीहरुले नियमित औषधी सेवनबाट वञ्चित हुनुपरेको जानकारी दिँदैं क्षयरोगको छातीको मात्र भन्ने बुझाईले पनि यसको न्यूनिकरणमा समस्या भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले क्षयरोग निवारणका लागि राष्ट्रिय क्षयरोग केन्द्र, स्वास्थ्य कार्यालय, स्थानीय तह, क्षयरोग निवारणमा सक्रिय संघसंस्थाको एकिकृत कार्ययोजना निर्माण गरी स्थानीय तहका वडातहसम्म सचेतना र उपचारका कार्यक्रम सञ्चालन गर्न सके क्षयरोगीहरुलाई सहज र सरलरुपमा उपचारको दायरामा ल्याउन सकिने सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष बाबुकाजी श्रेष्ठ, सुरेश प्रधान, पत्रकार रामगोपाल तमखूलगायतले क्षयरोग निवारण विभिन्न सुझाव दिनुभएको थियो ।