नेमकिपा अध्यक्ष बिजुक्छें र उत्तर कोरियाली राजदुत मानबीच भेटवार्ता

लक्ष्मी गारु, भक्तपुर, साउन ७
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र नेपालका लागि उत्तर कोरियाका राजदुत जो योङ मानबीच बिहिवार साँझ बिजुक्छें निवास कमलविनायकमा भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष बिजुक्छें र राजदुत मानबीच दुई पक्षीय समसामयिक विषयवस्तु र कोरोना भाइरसको महामारी, यसले निम्त्याएको विपत्ती र रोकथाम तथा उपचार पद्धतीको विषयमा छलफल भएको बताईएको छ ।
भेटमा अध्यक्ष बिजुक्छेँले कोरोना भाइरस (कोभिड–१९)को महामारीले नेपाली जनतालाई समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भेदबारे स्पष्ट हुने अवसर मिलेको बताउनुभयो ।


उहाँले कोभिड महामारीमा अक्सिजन अभावकै कारण धेरैको मृत्यु भएको उल्लेख गर्दै कुनै पनि देश भौतिक रुपले मात्र अगाडि बढ्दैमा जनताको सेवा नहुने कुरा कोभिड महामारीले प्रमाणित गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले कोभिडको महामारीमा उत्तर कोरियाका जनताको रक्षाको लागि त्यहाँको सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो, “उत्तर कोरियाले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको कारण हरेक क्षेत्रमा सफलता मिलेको हो । उत्तर कोरिया कोभिडबाट पूर्ण सुरक्षित हुनुमा कोरियाली सरकारको निकै ठूलो भूमिका रहेको छ ।
उहाँले कम्युनिष्टहरुको निम्ति उत्तर कोरिया उदाहरणीय देश रहेको बताउँदैं किम जोङ उनको नेतृत्वको प्रशंसा गर्नुभयो ।
राजदूत मानले कोरियाली राष्ट्रपति किम जोङ उनको नेतृत्वमा साम्राज्यवादी देशहरुसँग डटेर लड्न साहस मिलेको बताउँदै संयुक्त अधिराज्य अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न खोजिरहेको र वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताउनुभयो ।
उहाँले सुयोग्य नेतृत्व, एकताबद्ध जनता र आणविक शक्तिको विकासले अब कुनै पनि देशले उत्तर कोरियालाई झुकाउन नसक्ने दावी समेत गर्नुभयो ।
उत्तर कोरियाली सरकारले जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्पष्ट पार्दै राजदुत मानले नेमकिपाले उत्तर कोरिया र कोरियाली जनताप्रति देखाएको ऐक्यबद्धताको निम्ति धन्यवाद दिनुभयो ।


भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँ, कोरियाली राजदुतावासका तर्फबाट सल्लाहकार किम जोन ह्योक र दुतावासका अफिसर पिक जिन ह्योकको पनि उपस्थिति थियो ।
यसअघि राजदुत मानले भक्तपुर नगरपालिका कार्यालय पुगेर नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी राजदुत मानले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङ, कलेजका पुस्तकालय र प्रयोगशालाको स्थलगत अवलोकन गर्नुका साथै विभिन्न जिज्ञासा व्यक्त गर्नुभएको थियो ।
साथै राजदुत मानले भक्तपुरको मौलिक उत्पादनको समेत स्थलगत अवलोकन गर्नु भएको थियो । सो अवसरमा राजदुत मानले जु जु धौ बनाउने विधिको बारेमा पनि जिज्ञासा राख्नुभएको थियो ।