नेमकिपा अध्यक्ष बिजुक्छें र बागमति प्रदेशका मुख्यमन्त्री पौडेलबीच भेटवार्ता

लक्ष्मी गारु, भक्तपुर, साउन ४
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच सोमवार साँझ कमलविनायकस्थित बिजुक्छें निवासमा भेटवार्ता भएको छ ।
सो अवसरमा अध्यक्ष बिजुक्छेँले प्रदेश आफ्नो क्षेत्रको विकासको लागि स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेमकिपाले निरन्तर जोड दिँदै आएको बताउँदैं स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन आफ्नै भरमा विकास गर्नुपर्छ ।’


अध्यक्ष बिजुक्छेंले वाम पक्षधरहरु निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक काम हुनुपर्नेमा जोड दिँदैं भ्रष्टाचार रोक्न सके धेरै काम हुने र जनताले पनि सुख पाउने बताउनुभयो ।
भेटमा मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउँदैं आफु स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा प्रदेश सरकारको ध्यान नपुगेको स्वीकार गर्दै स्वास्थ्य क्षेत्रमा भक्तपुर नपालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


उहाँहरुबीच देशको परिवर्तित राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भएको बताईएको छ । भेटवार्तामा बागमति प्रदेशमा नेमकिपाबाट निर्वाचित सांसदहरु सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु तथा नेकपा एमालेका प्रदेशसभा सदस्य दिपक निरौला, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीको पनि सहभागिता थियो ।
मुख्यमन्त्री पौडेलले बिजुक्छेंसँग भेटवार्ता गर्नुअघि भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संघसंस्था, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड वार्डको अवलोकन गर्नुभएको थियो भने भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिसँग छलफल गर्नुभएको थियो ।