प्रधानमन्त्री देउवाले पाए संसदको विश्वास – पक्षमा १६५, विपक्षमा ८३ मत

भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतवार संसदमा प्रस्तुत विश्वासको प्रस्तावमाथि भएको मतदानमा उहाँले १६५ मत प्राप्त गर्नुभयो भने उहाँको विपक्षमा ८३ मत मात्र खसेको थियो ।
मतदानमा सहभागी २४९ सदस्य मध्ये एक मत तटस्थ बसेका थिए । देउवाको प्रस्तावमा राप्रपाका सांसद राजेन्द्र लिंदेन तटस्थ बसेका थिए । त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल मतदानमा सहभागी भएन ।
देउवालाई कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेका २२, जनता समाजवादी पार्टीका ३२, राष्ट्रिय जनमोर्चाका एक जनाले मत दिएका थिए । देउवालाई संसद विश्वास पाउन १३६ मत आवश्यक थियो ।
देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो । सर्वोच्चको परमादेश पछि संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री बनेका देउवाले धारा ७६ (६) अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिनुभएको हो ।