कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त, आजै शपथ गराउने तयारी

भक्तपुर, असार २९
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतको सोमवारको आदेश अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त प्रधानमन्त्री देउवालाई आजै शपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । देउवा पाँचौं पटक प्रधानमन्त्री बन्नुभएको हो । देउवा २०५२ भदौ २७ गते पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । देउवा दोस्रो पटक ०५८ साउन ११ गते प्रधानमन्त्री बन्नुभएको थियो । त्यसयता देउवाको राजनीतिक जीवनसँग सँगै र नेपालको राजनीतिमा समेत अनेक उतारचढाव आए ।
माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने विषयमा पार्टीसँग मत बाझिएपछि तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ०५९ जेठ १९ मा प्रधानमन्त्री भएकै बेला देउवालाई साधारण सदस्यताबाट समेत निष्कान गरे । देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे ।
त्यही बेला राजा ज्ञानेन्द्र शाहले देउवालाई असक्षम घोषणा गरी प्रधानमन्त्रीबाट पदच्युत गरे । ज्ञानेन्द्रको कदमको विरोधमा दलहरुले निरन्तर आन्दोलन गरेपछि ज्ञानेन्द्रले ०६१ साल जेठ २९ मा पुनः देउवालाई तेस्रोपटक प्रधानमन्त्री बनाए ।
तर, तेस्रो पटक प्रधानमन्त्री भएका देउवालाई पुनः असक्षम घोषणा गर्दै ज्ञानेन्द्रले वि.सं. ०६१ माघ १९ गते ‘शाही कू’ मार्फत सत्ता आफ्नो हातमा लिएर प्रत्यक्ष शासन गरे ।
तत्कालिन सात राजनीतिक दल र सशस्त्र युद्धरत तत्कालिन नेकपा (माओवादी) बीच १२ बुँदे सम्झौतासँगै शुरु भएको २०६२÷०६३ को जनक्रान्तिले ज्ञानेन्द्रलाई हटाएर नेपालमा लोकतन्त्रको स्थापना भयो ।
परिवर्तित राजनीतिक घटनाक्रमसँगै संविधान सभाको निर्वाचन भयो । संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र स्थापना गर्यो । २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको नयाँ संविधान जारी भयो । त्यसपछि मुलुक नयाँ संविधान अनुसार निर्वाचनमा गयो । सोही क्रममा २३ जेठ ०७४ मा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।
देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असीग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा भएको हो । प्राथमिक शिक्षा गाउँकै असिग्राम प्राथमिक विद्यालय र एलएसली सीताराम मावि डोटीबाट पुरा गरेका देउवाले २०२० सालदेखि नै जननायक वि पी कोइरालाको प्रेरणाले कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको थियो ।
एसएलसीपछि देउवाले काठमाडौंको त्रिचन्द्र कलेजबाट उच्च शिक्षा हासिल गर्नुभयो । नेपाल विद्यार्थी संघमा सक्रिय देउवाले विभिन्न पटक गरी करिव ९ वर्ष जेलमा बिताउनुभयो ।
देउवा वि.सं. २०२८ सालमा पहिलोपटक नेपाल विद्यार्थी संघको सभापति बन्नुभयो । विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाउनुभयो ।
तर कांग्रेसले २०४६ सालमा प्रजातन्त्र प्राप्तीका लागि जनआन्दोलनको घोषणा गर्दा देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरिरहनुभएको थियो । जनआन्दोलन सफल भएपछि देउवा काठमाण्डौं आउनुभयो ।
प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएपछि गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने देउवा गृहमन्त्री बन्नुभएको थियो ।