संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रिको जोखिम बढ्यो – सांसद सुवाल

भक्तपुर, असार २८
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रिको जोखिम बढेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान — भाग २’ पुस्तकको सोमवार अनलाइनमार्फत विमोचन गर्दै सांसद सुवालले संसद पुनःस्थापनासँगै देशको राजनीतिमा अन्योल यथावत रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘संसद पुनःस्थापनासँगै देशको राजनीतिमा अन्योल यथावत रहेको र आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम रहेको छ ।’ उहाँले नयाँ बन्ने सरकारले देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको बताउनुभयो ।
उहाँले देशको सन्तुलित विकास योजना लागु गर्न र बसाइँसराइँलाई निरुत्साहित गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं, भक्तपुर र ललितपुर आफैमा एउटा स्मार्ट सिटीको रुपमा रहेको बताउँदै उपत्यकामा आधुनिक सहर बनाउने र विकासको सम्पदा विनास गर्ने कार्य भएको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकालाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नु उपयुक्त हुनेमा जोड दिनुभयो ।