व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम

भक्तपुर, असार २७
भक्तपुरका व्यवसायीहरुलाई अनलाइनमार्फत कर विवरण दाखिला गर्ने तालिम प्रदान गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा व्यवसायीहरुलाई अनलाईन कर विवरण दाखिला सम्बन्धी तालिम प्रदान गरिएको हो ।
भच्र्युअल विधिबाट आयोजना भएको उक्त तालिममा आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत गगन बहादुर विके र कार्यालयकै कम्प्युटर अपरेटर रुपक ढकालले अनलाईनबाट कर विवरण भर्ने तरिका र कर भुक्तानीका प्रक्रियाहरुका बारेमा तालिम प्रदान गर्नुभएको थियो ।
सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे रत्न मानन्धरले राजस्व सम्बन्धमा नियम, कानुन र प्रक्रियाहरुबारे जानकारी नहुँदा धेरै उद्यमी व्यवसायीहरु कारवाहीमा पर्ने गरेकाले उहाँहरुलाई सहजीकरण गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार रोशन भोयद्योले मौजूदा कोरोना संक्रमणको कारण भिडभाड गर्न नहुने अवस्थामा पनि आयोजक संस्थाहरुले समयानुकुल भच्र्यूअल प्रविधिबाट तालिमको आयोजना गरी उद्यमी व्यवसायीलाई सु–सुचित गराउन सक्नु प्रशंसनिय कार्य भएको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम कृष्ण खर्बुजाले मौजुदा प्रविधि मैत्री अवस्थामा प्रविधिको उपयोग गर्न सिक्नु पर्नेमा जोड दिनुभयो । विभिन्न क्षेत्रका उद्यमी व्यवसायी र निकायका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त भच्र्युअल तालिममा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष माधव प्रसाद प्रजापति र भक्तपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रदिप रत्न शाक्यले तालिमको आवश्यकता स्पष्ट पार्नुभएको थियो ।