ङातापोल्हँ मन्दिरको बुसाँदा सम्पन्न

भक्तपुर, असार २७
विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिर निर्माण आइतवार ३२० वर्ष पुरा भएको छ । सो अवसरमा ङातापोल्हँ मन्दिरको बुसाँदा गरिएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँको वर्षवर्धन पुजासँगै मन्दिरको गजुरमा नयाँ पतचाः (ध्वजा) फहराएर बुसाँदा गरिन्छ ।
बुसाँदा गर्नु अघि मन्दिर भित्र पतचाःलाई राखेर आचाजु, जोशी, राजोपाध्य र ताल्चाभडेल पुजारीहरुले विधिवत रुपमा तान्त्रिक पुजा गरी बोका वली दिइन्छ । पुजापछि सबै पुजारीहरुले समेबजी सेवनगरी पतचाःलाई भक्तपुर तुछिमलाका अवाल समुदायलाई हस्तान्तरण गरिन्छ ।


मन्दिरमा पतचाः फहराउनका लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिर माथि जान नदिने परम्परा रहेको छ । प्रत्येक वर्ष झै यो वर्ष पनि करिव एक दर्जन अवालहरु मन्दिर माथि गएर पतचाः फहराएको थियो । पतचाः राख्नको लागि चार जनाले गजुरको चार कुनामा बसेर बाँधेका थिए । करिव ३० फिट लामो हाँगा सहितको बाँसमा ६६ इन्च लम्वाई र ४४ इन्च चौडाईको कपडाको पतचाः फहराइएको थियो ।
नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाको दिन पहिलो वर्षको बुसाँदा पुजा शुरु गरी पतचाः फहराइएको इतिहास रहेको छ ।