सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ अहंकारीपन – प्रवक्ता शर्मा

भक्तपुर, असार २५
प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार सम्बन्धी रिटमा दिनुभएको जवाफलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहंकारको जगमा उभिएको जवाफको संज्ञा दिनुभएको छ ।
संविधानको व्यख्याता सर्वोच्च अदालत भएको बताउँदैं प्रवक्ता शर्माले संविधानको व्याख्या गर्ने अदालतको आदेशलाई संविधान विपरित भन्नु अहंकारीपनको संज्ञा दिनुभएको हो ।
उहाँले सर्वोच्च अदालतले गरेको आदेशलाई सत्तापक्ष, सरकार वा विपक्षी दल सबैले स्वीकार गर्नुपर्ने तर्क गर्नुभयो । ‘प्रधानमन्त्रीजीले अदालतलाई अहंकारको जगमा उभिएर जवाफ दिनुभयो । अदालतले चाँहि संविधानको जगमा उभिएर सन्देश दिएको छ,’ शर्माले भन्नुभयो, ‘त्यसकारण संविधान, कानुन, मानवीय कोणबाट समाजलाई हेरिराखेर संवैधानिक इजलासबाट संविधानलाई पुनर्जीवन दिने फैसला आउने आशा र विश्वासमा हामी छौ ।’
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा सर्वोच्च अदालतमा परेको मुद्दाको सम्बन्धमा सर्वोच्चलाई लिखित जवाफ दिँदै आदेश संविधान विपरित भएको बताउनुभएको थियो ।
सर्वोच्च अदालतलाई दिएको जवाफ जस्तै प्रधानमन्त्री ओलीका भ्रमपूर्ण र चेतावनीयुक्त विचारहरु लिखित रुपमा र मौखिक रुपमा सार्वजनिक भईरहेको उल्लेख गर्दै प्रवक्ता शर्माले न्यायालयको आदेशलाई सबैले मान्नुपर्ने बताउनुभयो ।
संविधानको धारा ७६ (५) मा भएको व्यवस्था पार्टीले जोगाउन नसके सांसदले संसद जोगाउन सक्ने व्यवस्था भएको वकालत गर्दा कतिपयले नेपाली कांग्रेस पार्टी निर्दलीयताको अभ्यासमा जान खोजेको टिप्पणी भएको भन्दै उहाँले त्यसबारे लाञ्छित गर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।