सरकारी गाडीमा यौनजन्य गतिविधि गर्ने तीन जना पक्राउ

भक्तपुर, असार २४
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा जाने सडकमा सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिला छन् ।
प्रहरी स्रोतका अनुसार बुधवार राती गस्तीमा गएको टोलीले सडक किनारामा रोकी राखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको सरकारी गाडीमा जाँच गर्नेक्रममा गाडीभित्र यौनजन्य गतिविधि गरिरहेको अवस्थामा चालक खत्री र महिलालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोलीले चालक खत्रीलाई जंगलबाट पक्राउ गरिएको बताईएको छ । प्रहरी देख्ने बित्तिकै खत्री जंगलतर्फ भागेपछि प्रहरीले पिछा गरी पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको छ । प्रहरीले कार्कीलाई बिहीबार पक्राउ गरेको स्रोतले बताए । बुधवार राती फरार भएका कार्की चालक खत्रीका नातेदार भएको बताईएको छ ।
प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ बमोजिम सार्वजनिक स्थानमा यौनजन्य क्रियाकलाप गर्न नहुने महल (१) नम्बरको कसुरमा कारवाही प्रक्रिया शुरु गरिएको र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।