युरोकप – स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश

भक्तपुर, असार २३
इटाली स्पेनलाई ट्राइब्रेकरमा पराजित गर्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बलीमा बुधवार बिहान सम्पन्न खेलमा इटाली टाइब्रेकरमा स्पेनलाई ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको समय र थप गरिएको ३० मिनेटमा पनि एक एक गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा प्रवेश गरेको हो ।
ट्राइब्रेकरमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।
ट्राइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाटेलीको प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएका थिए । लगत्तै ड्यानी ओल्मोले पनि स्पेनको पहिलो प्रहार पोस्टभन्दा निकै माथि प्रहार गरे । दोस्रो प्रहारमा इटालीका आन्द्रीए बेलोट्टी र स्पेनका जेरार्ड मोरेनो दुवैले गोल गरे ।
इटालीका लिओनार्डो बोनुचीले तेस्रो प्रहारमा गोल गर्दा स्पेनका थियागोले पनि कुनै गल्ती नगरी गोल गरेर खेल २–२ को बराबरी गरे । फेडेरिको बर्नार्डेस्कीले इटालीको चौथो प्रहारमा गोल गर्दा स्पेनका तर्फबाट भने अल्भारो मोराटाले गोल गर्न सकेनन् । मोराटाको प्रहार इटालियन किपर डोनारुम्माले सहजै बचाए । इटालीका लागि पाँचौ पेनाल्टीमा जर्जिन्होले गोल गर्दै फाइनलमा स्थान पक्का गरे । इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।


ट्राइब्रेकरमा जानु अघि दुबै टोलीले निर्धारित समयको पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा स्पेनले बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेको थिएन । इटालीले भने पहिलो हाफको अन्त्यतिर अग्रता लिने अवसर चुकाएको थियो । एमर्सनको प्रहार पोस्टमा लागेर बाहिरिंदा टोली अघि बढ्नबाट बन्चित भएको थियो । उनले इन्सिगनेको पासमा गरेको प्रहारमा गोलरक्षक बिट भएपनि पोस्टमा लाग्दै बाहिरियो ।
दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । काउन्टरमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिदै उनले उत्कृष्ट गोल गरे ।
तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान छिरेका उनले डानिल ओल्मोको पासमा गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ९८ औं मिनेटमा डोनारुम्माले सुन्दर बचाउ गर्दै स्पेनलाई अघि बढ्न दिएनन् । उनले ओल्मोको प्रहारलाई विफल पारेपछि रिबाउन्डमा भने इटालियन डिफेन्सले क्लियर गर्यो ।


यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।