युरोकप २०२० – शानदार जितसँगै इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा

भक्तपुर, असार २०
कप्तान ह्यारी केनको दुई गोल मद्दतले इंग्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि ४–० को शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।
इटालीको रोममा आइतवार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई जित दिलाउन कप्तान केनले दुई तथा ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।
केनले खेलको शुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरे ।
इंग्ल्यान्डले दोस्रो हाफको पहिलो मिनेटमा अग्रता दोब्बर पारे । खेलको ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए । लुक शको फ्रिकिक पासमा उनले हेडमार्फत गोल गरे ।


खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३–० को अग्रता दिलाए । उनले शकै पासमा हेडमार्फत गोल गरे । त्यसपछि युक्रेनले रक्षात्मक खेल खेल्न थाल्यो । वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल थपेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ उन्मुख भएको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका हेन्डरसनले खेलको ६३ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए । राइसको स्थानमा ५७ औं मिनेटमा मैदान पसेका उनले मासन माउन्टको कर्नरमा हेडमार्फत गोल गरे । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।
इंग्ल्यान्डले अब सेमिफाइनलमा डेनमार्कसँग प्रतिष्पर्धा गर्नेछ । डेनमार्क चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।


चेकविरुद्ध डेनमार्कले पनि खेलको शुरुवातमै अग्रता लिएको थियो । खेलको ५ औं मिनेटमा थोमस डेलानेले हेडरमार्फत गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले उत्कृष्ट हेडर गोल गरे ।
त्यसपछि खेलको ४२ औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् ।


दोस्रो हाफको शुरुवातमा नै चेकले गोल फर्काउँदै खेललाई थप रोमाञ्चक बनाए । चेकका लागि प्याट्रिक सिकले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । सौफालको क्रसमा पहिलो टचमा नै सिकको प्रहार गोल भएको थियो । प्रतियोगितामा पाँचौ गोल गर्दै सिकले सर्वाधिक गोलकर्ता सुचिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग बराबरी पनि गरे ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि चेकले फाइनल थर्डमा अपेक्षित तालमेल मिलाउन नसक्दा बराबरी गोल गर्न सकेन ।