युरोकप २०२० – बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश

भक्तपुर, असार १९
विश्व नम्बर एक बेल्जियमलाई पराजित गर्दै इटाली युरोकप २०२० को सेमिफाइनल प्रवेश गरेको छ । जर्मनीको एलिनाज स्टेडियममा शनिवार बिहान सम्पन्न खेलमा इटाली फिफा वरियतामा शिर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
इटालीको जितमा निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे भने बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
खेलमा सम्भव तीनै गोल पहिलो हापमा भएको हो । खेलमा आक्रमक शुरुवात गर्दै इटालीले अग्रता लिएको थियो । इटालीलाई खेलको १३ औं मिनेटमा लियोनार्दो बुनिचीले अग्रता दिलाए तर उनको गोललाई भीएआरले अफसाइड घोषित गरेको थियो ।


खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे । खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका लोरेन्जोको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिएपनि बचाउन सकेनन् ।


पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो । दोस्रो हाफमा दुबै टोलीले केही अवसर बुनेपनि फिनिसिङमा चुक्दा थप गोल हुन सकेन र अन्ततः खेल २–१ ले इटालीको पोल्टामा गयो ।
खेलमा इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले केही शानदार बचाउ गरेका थिए भने बेल्जियमका लुकालुले केही अवसर खेल फालेका थिए । लुकालुको कमजोर प्रदर्शनका कारण पनि बेल्जियम युरोकपको क्वाटरफाइनलबाट बाहिरिनुको कारण बन्यो । दोस्रो हाफमा गोलका लागि दुई सुन्दर अवसर पाएको थियो तर लुकालु चुक्दा बेल्जियम बराबरी गर्नबाट चुकेका थिए । बेल्जियमले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोलको अवसर सदुपयोग गर्न नसक्दा खेल गुमाउन पुग्यो ।
जितसँगै इटालीको अपराजित यात्रा ३२ खेल पुगेको छ । बेल्जियमले भने १४ खेलपछि हारको सामना गरेको हो । इटाली १० अक्टोबर २०१८ मा पोर्चुगलसँग १–० गोलले पराजित भए यता कुनै पनि खेलमा पराजित भएको छैन । इटाली ३२ खेलमा अपराजित हुने क्रममा २७ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ । अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ । दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन् ।
अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।