बादी समूदायको माग ः कर तिर्छौ, यौन पेशा गर्न पाऊँ

भक्तपुर, जेठ २३
सुदुरपश्चिम प्रदेशका बादी समूदायले यौन पेशा अंगाल्न पाउनु पर्ने माग गरेका छन । बादी समूदायका महिलाहरुले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन । उनीहरुले त्यसका लागि नियमानुसार कर तिर्न तयार भएको समेत बताएका छन ।
ज्ञापनपत्रमा बादी समूदायले बाँच्न पाउने अधिकार कुण्ठित भएको उल्लेख गरेका छन । बादी महिलाहरुको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै भन्नुभयो, ‘बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका हौं ।’
सरकारले २०६५ साल पुस २३ गते बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषणा गरेको थियो । तर अहिलेसम्म निर्णय कार्यान्वयन नभएको बादी समूदायको ज्ञापनपत्रमा उल्लेख छ । पुनःस्थापना नहुँदा अहिले पनि कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य भएको उनीहरूको भनाई छ । बादी समुदायको गास, बास र कपासको व्यवस्था गर्ने सरकारले निर्णय गरे पनि कार्यान्वयन नभएपछि मुख्यमन्त्री कार्यालय आउन बाध्य भएको उनीहरुको भनाई छ । पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि उनीहरु बाँच्नैका लागि भएपनि सरकारले बादी समुदायका महिलाहरूलाई स्वतःस्फूर्त यौन पेशाका लागि स्वीकृति दिनुपर्ने बताउँछन ।
ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिजोका दिनमा राज्यले गर्छौँ भनेकै माग रहेकोले प्रदेश सरकारले गर्न सक्ने जति सबै माग कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।