उपप्रधानमन्त्री महतोको भनाई संविधानको मर्म र भावना विपरित ः नेता गौतम

भक्तपुर, जेठ २२
नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधानको मर्म र भावना विपरित अभिव्यक्ति दिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत शपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले अहिले पनि नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने आन्दोलनमा रहेको भन्ने अभिव्यक्ति दिएकोमा आफु दुःखी भएको बताउनुभएको हो ।
‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु,’ उहाँले लेख्नुभएको छ ।
गौतमले प्रधानमन्त्री के पी शर्मा ओलीले महतोको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेकामा आश्चर्य व्यक्त गर्नुभएको छ । ‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु,’ नेता गौतमले उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाल अनेकौं विशेषतासहितको राष्ट्र भएको उल्लेख गर्नुभएको छ । ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो,’ गौतमले लेख्नुभएको छ ।