उपमेयरमा ९९ भोट ल्याएकी रेणुका गुरूङ राज्यमन्त्री

भक्तपुर, जेठ २२
चार वर्ष अघि उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बन्नुभएको थियो । तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ ।
टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोल निर्वाचित हुनुभएको थियो । उहाँले आठ हजार ९८ मत पाउनुभएको थियो ।
नवनियुक्त राज्यमन्त्री गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ । उहाँ स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बन्नुभएको थियो । उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो । उहाँ समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो ।
जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षकी उहाँले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाउँदै आउनुभएको छ । यादव पक्षलाई छोडेर आएकाले नै उहाँलाई राज्यमन्त्री बनाइएको ठाकुर पक्षको भनाइ छ ।
उहाँ जसपा एकीकरण हुनुअघि फोरमलाई फुटाउने ६ जना सांसदमा थिइन् । त्यतिबेला प्रधानमन्त्री ओलीले फोरमलाई फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए । गुरूङ सहित ६ जना सांसदले फोरम फुटाउन लागेपछि रातारात राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर जसपा बनाइएको थियो।
अहिले जसपा पनि विभाजनको संघारमा पुगेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ की गुरूङ हाल काठमाडौंमा बस्दै आउनुभएको छ । समाजसेवामा सक्रिय उहाँ नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष भइसक्नुभएको छ ।
हिमालखबरबाट