बाल यौन दुराचारमा दुई शिक्षक पक्राउ

भक्तपुर, जेठ २२

एक १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको अभियोगमा भक्तपुरमा शुक्रवार दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्डो प्रशिक्षक चुलाई मुखिया छन ।
प्रहरीका अनुसार शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको आरोप लागेको छ भने भक्तपुर सृजनानगर बस्ने तेक्वान्डो प्रशिक्षक मुखियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा तेक्वान्डो प्रशिक्षण गर्नेक्रममा यौन दुराचार गरेको आरोप लगाईएको छ ।
महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार पिडित बालिकाकी आमाले बुधवार दिएको उजुरीका आधारमा कोजु र मुखियालाई पक्राउ गरिएको हो ।
पिडित बालिकाले आमालाई भनेपछि घटना सार्वजनिक भएको हो । मुखियाले राम्रोसँग खेल सिकाईदिन्छु भनी सल्लाघारीमा बोलाई एकान्तस्थानमा लगेर यौन दुराचार गरेको बताईएको छ । पक्राउ परेका कोजु र मुखियामाथि छुट्टाछुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रनाउ गिरीले बताउनुभयो ।