पहिलो हाफमा नेपाल अन्जनको गोलमा अगाडि

भक्तपुर, जेठ २०

नेपालले चाइनिज ताइपेइविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । अन्जन विष्टले चौथो मिनेटमा पेनाल्टीमा गरेको गोल मद्दतले नेपालले अग्रता बनाएको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अन्जनले सो पेनाल्टी प्रहारमा कुनै गल्ती नगरी नेपाललाई अग्रता दिलाएका हुन ।
खेलको ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएको थियो । लामो फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट वु चुन चिङले प्रहार गरेको हेडबललाई कप्तान किरण चेम्जोङले सहजै बचाए । १६ औं मिनेटमा सन्तोषको लामो पासलाई सुनिल बलले ताईपेईको गोल पोष्टको दिशा दिएपनि गोलरक्षक शिह शिनले अगाडी आएर बचाए ।
सुनिलले २२ औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सटिक बन्न सकेन । २४ औं मिनेटमा अन्जनले लेफ्ट विंगमा दुई डिफेन्सलाई बिट गर्दै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक शिनले बचाए । ३२ औं मिनेटमा कर्नरमा आएको रिबाउन्डलाई सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
पहिलो हाफमा नेपालले बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुन्ने प्रयास गरेको थियो । ताईपेईले पनि काउन्टर अट्याकमा आक्रमण बुन्दै नेपाली डिफेन्सलाई सहज अवस्था दिएको छैन ।
नेपालले मध्यान्तरमा पहिलो परिवर्तन गरेका छन । सुनिल बलको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका छन ।