नेपालमा थप ५,९०४ जना कोरोना मुक्त, ७५ जनाको मृत्यु

भक्तपुर, जेठ २०

नेपालमा विगत २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २१ हजार ७७३ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार जनाएको हो । तीमध्ये ३ हजार २११ एन्टिजन परीक्षण हो जसबाट एक हजार जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्याङ्क छ ।
त्यस्तै सो अवधिमा ७५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ भने थप ५ हजार ९०४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमित संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये अहिले एक लाख एक हजार ८३९ जनामा सक्रिय संक्रमित छन् । हालसम्म निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यो कुल संक्रमितको ८१ प्रतिशत हो । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० अर्थात १.३ प्रतिशत रहेको छ ।


बिहीवार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डौं र नवलपरासी पूर्व जिल्लाका छन् । काठमाण्डौं उपत्यकामा थप २ हजार ५७ जनामा संक्रमण पुष्टि भएको छ, ती मध्ये काठमाण्डौंमा एक हजार ६३०, भक्तपुरका १२९ र ललितपुरका २९८ जना छन । नवलपरासी पूर्वमा ७७१ जना संक्रमित थपिए । दुई सयभन्दा बढी संक्रमित थपिएका अन्य जिल्लामा सुनसरी, काभ्रे र कास्की रहेका छन् ।
नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय संक्रमित छन भने १३ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।
कुल सक्रिय संक्रमित मध्ये ६ हजार ९३० जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये १ हजार ४४४ आईसीयू र ३९८ जना भेन्टिलेटरमा छन ।