मध्यपुर थिमिमा नगरप्रमुख समक्ष कार्यपालिकाको बैठक माग गर्ने तयारीमा उपप्रमुख

भक्तपुर, जेठ २०, लक्ष्मी गारु

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख र ६ जना वडाअध्यक्षसहित कार्यपालिकाका १९ मध्ये १५ सदस्यले कार्यपालिकाको बैठक माग गर्ने भएको छ। नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुले शुक्रवार दुईं बुँदें एजेण्डासहित बैठक माग गरी नगरप्रमुख मदनसुन्दर श्रेष्ठ समक्ष निवेदन पेश गर्ने भएको हो।
त्यसको लागि आज उपप्रमुख अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा कांग्रेसबाट निर्वाचित कार्यपालिकाको बैठक बसेको स्रोतले जानकारी दिएको छ। स्रोतको अनुसार नगरपालिकामा कार्यपालिका बैठक बस्न नसकेको लामो समय भइसकेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नियमावली २०७५ मा कार्यपालिका बैठक महिनामा एक पटक बस्नुपर्ने व्यवस्था छ।
स्रोतका अनुसार उपप्रमुखसहितको टोलीले कोरोनाको पिसिआर परीक्षण निःशुल्क गर्न र कोरोना विरुद्धको खोप नगरपालिकाले खरिद गरी वा दातृ निकायसँग पहल गरी अनुदानमा ल्याएर नगरबासीलाई निःशुल्क उपलब्ध गराउने विषयमा छलफलका लागि कार्यपालिकाको बैठक माग गर्न लागिएको हो।
त्यसैगरी आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बेला आएको तर नगरप्रमुखले बैठक राख्ने कुनै चासो नदिएकाले पनि नगरप्रमुखलाई दवाब दिने उद्देश्यले उपप्रमुखसहितको टोलीले बैठक राख्न माग गर्न लागिएको बुझिएको छ।
बैठक माग गर्ने तयारी गरेका कार्यपालिका सदस्यहरुमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. १ का वडाअध्यक्ष सुरज खड्का, २ का वडाअध्यक्ष राम थापामगर, ३ का वडाअध्यक्ष प्रेमबहादुर कुटु, ४ का वडाअध्यक्ष कुमार श्रेष्ठ, ६ का वडाअध्यक्ष ईन्द्रबहादुर प्रजापति, ९ का वडाअध्यक्ष रामकाजी चक्रधर, चन्द्रवती मिझार, बिलबहादुर विश्वकर्मा, विष्णु परियार, विनु केसी, अरुणा कारञ्जित, सुजाता बाडे, रमिता जिमा (साँया) श्रेष्ठ र मिरा खड्का छन।