शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा सर्ने

भक्तपुर, जेठ २०

भक्तपुरको दुधपाटीमा सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र चाँगुनारायण नगरपालिका–३ झौखेलमा स्थानान्तरण हुने भएको छ । दुधपाटीमा सेवा बिस्तारको लागि स्थान अभाव झेलीरहेको केन्द्र लामो समयको खिचातानीपछि झौखेलमा सर्ने पक्का भएको हो ।
मन्त्रिपरिषदको गत जेठ १३ गतेको बैठकले केन्द्रको लागि झौखेलको साविक झौखेल गाविस–३ कित्ता नं. १ को ६ रोपनी १ आना २ पैसा र झौखेल ३ खको कित्ता नं. ११३ को २५ रोपनी ५ आना २ पैसा जग्गा सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ (संशोधन सहित)को दफा १२ (४) र दफा ५ को देहायको खण्ड ग बमोजिम ३० वर्षको लागि भाडामा दिने निर्णय गरेपछि केन्द्र झौखेलमा बन्ने पक्का भएको हो ।
मन्त्रिपरिषदको निर्णयसँगै भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ १७ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि पत्र समेत पठाएको छ ।
केन्द्रलाई यसअघि चाँगुनारायणकै वडा नं. ७ बागेश्वरीमा सार्ने तयारी भएको थियो । त्यसको लागि २०७५ साउन २१ गते बागेश्वरीको करिव ७० रोपनी जग्गा केन्द्रलाई दिन सरोकारवालाहरु सहमत भएका थिए । केही समय अघि केन्द्र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा सार्ने तयारी पनि भएको थियो । कटुञ्जेको गणेशमानसिंह बाटिकाको जग्गामा केन्द्र सार्ने तयारी भएको थियो ।
केन्द्र झौखेलमा सर्ने पक्का भएपछि चाँगुनारायण नगरपालिकाको पुर्वी भेग वडा नं. ५, ६, ७, ८ र ९ का स्थानीय तथा केही राजनीतिककर्मीले विरोध गरेका छन । उनीहरुले विकासमा न्यायोचित र समान ढंगले सबैको पहुँच हुनुपर्ने भन्दै चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुले केन्द्र बागेश्वरीमा बनाउने प्रतिवद्धता भुलेको आरोप समेत लगाएका छन ।
चाँगुनारायण नगरपालिकाको पश्चिमी भेग वडा नं. १, २, ३ र ४ मा के एम सी अस्पताल सञ्चालनमा रहेको, विर अस्पताल बन्ने योजनामा रहेको, चाँगुनारायण अस्पताल सञ्चालनमा रहेको र अहिले केन्द्र पनि झौखेलमा सर्ने निर्णयले विकास र समृद्धिका योजना एउटै भूगोलमा सिमित भएको उनीहरुको तर्क छ ।