स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र मूल्य सुची सार्वजनिक गर्न निर्देशन

भक्तपुर, जेठ १९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, नीजि, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मुल्य सुची सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मंगलवार यस्तो निर्देशन दिएको हो ।
महाशाखाका प्रमुख डा. मदन कुमार उपाध्यायले पठाएको पत्रमा ‘सबै सरकारी, नीजि, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई पत्र पठाई कोरोना महामारीको विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचार वापत चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको वन्दोवस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य समग्री खरिद गर्न लगाएको गुनासो प्रधानमन्त्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, हेलो सरकार र स्वास्थ्य मन्त्रालयमा समेत आएकोले सो सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको’ जनाइएको छ ।
‘बिरामीको उपचार वापतको लाग्ने रकम बारे जानकारी पाउनु प्रत्येक नागरिकको अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानुनी एवम् नैतिक कर्तव्य हो,’ पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा ‘७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सो को लागत रकम शिर्षक समेत उल्लेख भएको मूलय सुची (शुल्क) सञ्चालक समिति÷बोर्ड÷आधिकारिक निकायबाट निर्णय गराई अनिर्वाय रुपमा आ–आफ्नो वेभसाइट मार्फत सार्वजनिक गर्ने, सूचना पाटीमा सबैले देख्ने गरी राख्ने र सो को जानकारी स्वास्थ्य संस्था सञ्चालन ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउनु हुन अनुरोध छ,’ उल्लेख छ ।