भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

भक्तपुर, जेठ १८
भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको संख्या १६ हजार ५२ जना पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयम्सेवक परिचालन गरी गत जेठ ५ गतेदेखी १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवाले बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत बैशाख ४ गतेदेखी १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको हो ।
‘जेठ ५ देखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको थियो’, डा. लासिवाले भन्नुभयो, ‘जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा नं. १० कार्यालय भवन पछाडी नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौं ।’

डा. लासिवाले खोपको पहिलो मात्रा लगाएर कोभिड संक्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरुलाई एक महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रष्ट पार्दै उहाँहरुको लागि अलग बन्दोबस्त गरिने जानकारी दिनुभयो । त्यस्तै यसअघि भारतीय खोप कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई दोस्रो मात्रा खोपको सूचना नआएकोले केही समय धैर्य गर्न आग्रह पनि गर्नुभयो ।
नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिसिल्डको दोस्रो मात्रा २ हजार ४३९ जनालाई दिइसकेको जनस्वास्थ्य स्रोतले बताएको छ । भक्तपुर नगरवासीसंगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका बासिन्दाहरुले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाएको र उहाँहरुमध्ये अधिकांशले आफ्नो नजिकको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लिएको डा. लासिवाको भनाइ थियो । खोपको पहिलो मात्रा लिएका सबैले दोस्रो मात्रा अनिवार्य लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैले कोभिड विरुद्धको खोप लगाउन बाँकी नै छ । ६० वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन् । खोप लगाउन नपाएका सबैले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको वेभसाइट धधध।खबअअष्लभ।mयजउ।नयख।लउ मा गई अनलाइन माध्यमबाट फाराम भर्न सार्वजनिक आह्वान गरिएको छ । फाराम भर्नेहरुलाई खोपको पहिलो मात्रा दिने सम्बन्धमा छिटै नै अर्को सूचना प्रकाशित हुने बताइएको छ ।

वडागत रुपमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएको विवरण ः
वडा नंं. महिला    पुरुष      जम्मा
१       ६१५       ७१८       १३३३
२       ७७२       ८४२       १६१४
३       ३९२       ४५७        ८४९
४       ८५२      १०००      १८५२
५       ६४८      ७७१       १४१९
६      ६६१       ७७४       १४३५
७      ७४६       ८३०       १५७६
८     ८९३      १०१२       १९०५
९     ९७१      १०४७       २०१८
१०    ८५०     १०६७       १९१७
जेठ १८ गते कमलविनायक ६६ ६८ १३४
जम्मा    ७४६६   ८५८६   १६०५२
स्रोत ः भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र, २०७८ जेठ १८ गते