कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ६८९८ संक्रमण मुक्त, ६०८५ थपिए, ६८ को मृत्यु

भक्तपुर, जेठ १८
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । १७ हजार १ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी नेपालभर विगत २४ घण्टामा ६ हजार ८९८ जना संक्रमण मुक्त भएका छन । सोही अवधीमा कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको यो संख्या तीन साता यताको सबैभन्दा न्यून हो । यसअघि गत बैशाख २५ गते शनिबार ५३ जनाको मृत्यु भएको थियो । जेठ ५ गते सबैभन्दा धेरै २ सय ४६ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यस्तै सोमबार १ सय १४, आइतबार १ सय ९ र शनिबार १ सय १६ जनाको मृत्यु भएको थियो ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९७ हजार ७ सय ४ जना होम आइसोलेसन र ७ हजार ८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ९१ जनाको आइसियु र ४ सय ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।