पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

भक्तपुर, जेठ १८
नेकपा एमालेको बालुवाटारमा सम्पन्न स्थायी समितिको मंगलवार बसेको बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले पार्टीलाई एकतावद्ध बनाउन जारी छलफलबारे विवेचना गर्दै त्यसका लागि लचकता अपनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भन्नुभयो ।
त्यस्तै बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहस, सरकारले अध्यादेश मार्फत प्रस्तुत बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको बारेमा समिक्षा भएको ज्ञवालीले बताउनुभयो ।
बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे एजेण्डा पेश नभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँले एमाले एकता जोगाउन गठित कार्यदलको औचित्य समाप्त भएकाले अहिले अस्तित्वमा नरहेको जानकारी समेत दिनुभयो ।
नेकपा एमालेको आन्तरिक मतभेद हटाई पार्टीलाई एकतावद्ध बनाउने प्रयास स्वरुप सोमवार राती एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका थिए । दरवारमार्गको एक होटलमा सम्पन्न छलफल करिव ५ घण्टा चलेको बताईएको छ । सो छलफलमा प्रधानमन्त्री ओलीको तर्फबाट सुभाषचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, पार्टी प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी भएका थिए । छलफल केही सकारात्मक भएकोले आजको स्थायी समिति बैठकले स्पष्टिकरण सोधिएका १२ जनालाई कारवाही गर्ने एजेण्डामा प्रवेश नगरेको बताईएको छ ।