चीनबाट खोप आज आईपुग्ने

भक्तपुर, जेठ १८
चीनले अनुदान दिने घोषणा गरेको १० लाख डोज कोरोना विरुद्धको भेरोसिल खोप मध्ये ९ लाख डोज आज काठमाण्डौं आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको विमानबाट ८ लाख र हिमालयन एयरलाइन्सको विमानबाट एक लाख डोज खोप आज आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया समकक्षी सी पेङ जीनलाई खोप सहयोग गर्न आग्रहपछि चीनले नेपाललाई १० लाख डोज भेरोसिल अनुदान गर्ने घोषणा गरेको थियो । सो १० लाख डोज मध्ये ८ लाख चीनको केन्द्रीय सरकार मार्फत र २ लाख डोज चीन स्वशासित तिब्बतबाट दिईने जनाएको थियो ।
सो अनुसार वायुसेवा निगमले बेइजिङबाट र हिमालयन एयरलाइन्सले तिब्बतको ल्हासाबाट खोप ल्याउन लागेको हो । खोप दिउँसो २ बजे आईपुग्ने जनाईएको छ ।
यो खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने तयारी भएको जानकारी दिनुभयो । ‘यो उमेर समूह उच्च जोखिममा रहेकाले प्राथमिकता अनुसार खोप लगाउने तयारी भईरहेको छ,’ उहाँले भन्नुभयो ।