भन्सार छली ल्याएका कारसहित चार जना पक्राउ

भक्तपुर, असार १५
भन्सार छली ल्याएका दुई वटा कारसहित महानगरिय अपराध महाशाखाले सोमवार चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा महाशाखाको टोलीले काठमाण्डौं गोपीकृष्ण हल नजिकबाट ग ३ च नम्बर प्लेट भएको सिल्भर रंगको क्रेटा कार र भक्तपुर सूर्यविनायक गणेशमन्दिर नजिकबाट प्रदेश ३–०१०२४ च ०२५३ नम्वर प्लेट भएको सेतो क्रेटा कारसँगै कारका धनी ४ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने ४१ वर्षिय मधु सिलवाल, सूर्यविनायक नगरपालिका–८ बस्ने २४ वर्षिय अरुण खड्का, लम्जुङ सुन्दरबजार नगरपालिका–३ का ३३ वर्षिय कमलबाबु पुरी भन्ने कमलबाबु भट्ट र मोरङ कानेपोखरी गाउँपालिका–७ बस्ने ४१ वर्षिय रेवती रमण निरौला छन ।
प्रहरीले उनीहरुको साथबाट सवारी साधनको नक्कली दर्ता किताव समेत बरामद गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो । प्रहरीले गोपीहल नजिक बरामद गरेको ग ३ च नम्बर प्लेटको सिल्भर रंगको क्रेटा कारमा सवार कमलबाबु पुरीलाई पक्राउ गरी सोधपुछका क्रममा उनको बयानको आधारमा भक्तपुरको सूर्यविनायकबाट मधु, र अरुणलाई पक्राउ गरेको एसपी पंगेनीले बताउनुभयो ।


‘कमलबाबुले बयानका क्रममा अर्को कार मधु, अरुण र बिशाल खड्काको समूहलाई बिक्रि गरेको जानकारी दिएको र कमलबाबुमार्फत उक्त कार खरिद गर्ने बहानामा सम्पर्क गरी मधु र अरुणलाई पक्राउ गर्न सफल भएका हौं,’ एसपी पंगेनीले भन्नुभयो ।
अनुसन्धानका क्रममा दुई वटै कारको नक्कली सवारी दर्ता किताव रेवती रमणले बनाएको खुल्न आएपछि उनलाई पशुपति नजिकबाट पक्राउ गरिएको एसपी पंगेनीले बताउनुभयो । प्रहरीले उनको शान्तिनगरस्थित डेरामा छापामारी विभिन्न सरकारी कार्यालय, विश्वविद्यालय, र यातायात व्यवस्था कार्यालयका १९१ वटा छापलगायत विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, सवारी चालक अनुमति पत्रलगायतका कागजपत्र बरामद गरेको छ ।


अनुसन्धानका क्रममा बजार ७० लाख मुल्य पर्ने क्रेटा कारलाई ४५ लाखमा बिक्रि वितरण गर्ने गरेको खुल्न आएको छ । महाशाखाले पक्राउ परेका चारै जनालाई लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर टेकु पठाएको र पक्राउ परेकाहरुलाई भन्सार छली सवारी साधन चोरी पैठारी गरी ल्याएको आरोपमा भन्सार ऐन २०६४ बमोजिमको कसुरमा समेत अनुसन्धान भइरहेको एसपी पंगेनीले बताउनुभयो ।