उपप्रमुख मधिकर्मीद्धारा मेलम्ची र हेलम्बुलाई सहयोग रकम हस्तान्तरण

भक्तपुर, असार ९
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बुधवार मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई नगरपालिकाको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उपप्रमुख मधिकर्मीले मेलम्ची र हेलम्बु पुगेर दुवै पालिकाका प्रमुखलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
मध्यपुर थिमि नगरपालिकाको गत असार ४ गते सम्पन्न ५३ औं कार्यपालिका बैठकले दुवै पालिकामा असार १ गते मेलम्ची नदिमा आएको बाढीले पु¥याएको क्षतिमा दुःख व्यक्त गर्दै जनही ११ लाख ११ हजार १११ रुपैंया सहयोग गर्ने निर्णय गरेको थियो ।


सोही सहयोग रकम लिएर मध्यपुर थिमि नगरपालिका उपप्रमुख मधिकर्मीको नेतृत्वमा टोली मेलम्ची र हेलम्बु पुगेको हो । उपप्रमुख मधिकर्मीले मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याल र हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पालाई सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेस केन्द्रीय विपद व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतले व्यवस्था गरेको हेलिकप्टरमार्फत उपप्रमुख मधिकर्मी र वडा नं. ३ वडा वडाअध्यक्ष प्रेमबहादुर कुटु हेलम्बु पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
नेता बस्नेत नेपाली कांग्रेस भक्तपुरले मंगलवार हस्तान्तरण गरेको सहयोग रकम ३ लाख ५१ हजार रुपैंया हेलम्बु र मेलम्चीलाई हस्तान्तरण गर्न जानुभएको उपप्रमुख मधिकर्मीले बताउनुभयो । सोही हेलिकप्टरमार्फत स्थलगतरुपमै सहयोग हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
मेलम्चीमा सहयोग हस्तान्तरण गर्ने क्रममा मध्यपुर थिमि नगरकार्यपालिका सदस्यहरु ६ नम्बर वडाध्यक्ष ईन्द्रबहादुर प्रजापति, ९ नम्बर वडाध्यक्ष रामकाजी चक्रधर, विनु केसी, सुजाता बैद्य, रमिता जिमा श्रेष्ठ, वडा सदस्यहरु हरिदास प्रजापति, सूर्यमान मुस्यान, सुजन पौडेल, चन्द्रप्रसाद धौवञ्जारलगायतका जनप्रतिनिधिहरु स्थलमार्गबाट मेलम्ची पुग्नुभएको थियो ।
उपप्रमुख मधिकर्मीले हेलम्बु र मेलम्चीको अवस्था अत्यन्त पिडादायक रहेको बताउनुभयो । उहाँले त्यस क्षेत्रमा खाद्यान्न, लत्ताकपडा जस्ता राहत सामग्री भन्दा पनि पुनःनिर्माण र पिडितको पुनर्बासको लागि नगद र जस्तापातालगायतको खाँचो रहेको बताउनुभयो । ‘हेलम्बु पुग्दा अवस्था दर्दनाक देखियो । राहत सहयोग भन्दा पनि स्थानीय जनप्रतिनिहरुले पुनर्निर्माण र पिडितको पुनर्बासका लागि नगद सहयोगको खाँचो रहेको बताए,’ उहाँले भन्नुभयो ।