स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै चाँगुनारायणको नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर, असार ९
चाँगुनारायण नगरपालिकाले स्वास्थ्य र कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलबार बसेको ९ औं नगरसभामा उपप्रमुख विणा बास्तोलाले सो नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा चाँगुनारायण नगरपालिकालाई कोरोना संक्रमणमुक्त बनाउन आगामी ६ महिनाभित्र सबै नागरिकलाई खोपको प्रबन्ध गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । ‘नगरपालिकालाई कोभिड १९ महामारीमुक्त बनाउने पहिलो प्राथमिकतामा राखी महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सजगता पालना गराउने र ६ महिनाभित्र नगरबासीलाई खोपको व्यवस्था गरिएको छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।


कोभिड–१९ नियन्त्रणका लागि कोरोना संक्रमणको परीक्षणलाई बढाउने र स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने नीति लिएको छ । कोरोनाविरुद्ध लड्न नगरपालिकाले पर्याप्त औषधि, चिकित्सक, स्वास्थ्य सामग्रीको व्यवस्थापन र परिचालन गर्ने नीति अवलम्बन गरेको नगरप्रमुख सोम मिश्रले बताउनुभयो ।
नगरबासीलाई कोरोना भाइरसबाट बचाउन आवश्यकता बमोजिम परीक्षण, संक्रमण लक्षण देखिएकालाई तत्काल उद्दार, आइसोलेसन तथा कन्ट्याकमा आएकालाई टे«सिङ गर्ने कार्यलाई थप व्यवस्थित गर्ने नगरप्रमुख मिश्रले बताउनुभयो ।
नगरबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै नगरपालिकाले आगामी आर्थिक वर्ष वडा नं.५, ६, ७, ८ र ९ लाई पायक पर्ने स्थानमा एक नयाँ सुविधा सम्पन्न नगर अस्पताल निर्माणका लागि डीपिआर निर्माण गर्ने नीतिमा उल्लेख छ ।


जनस्वास्थ्यलाई प्राथमिकतामा राखी कोभिड नियन्त्रण कोषको गठन गरिने भएको छ । यसैगरी नगरपालिकाले सञ्चालनमा ल्याएको चाँगुनारायण अस्पताललाई जिल्लाको गुणस्तरीय स्वास्थ्य संस्थाको रुपमा विकास गर्ने र त्यसका लािग अस्पताल विकास समिति गठन गर्ने योजना रहेको बताउँदै नगरप्रमुख मिश्रले भन्नुभयो, ‘स्वास्थ्य नै धन र स्वस्थ नागरिक नै नगरको सम्पत्ती’ भन्ने भावना बमोजिम चाँगुनारायण नगर अस्पताललाई गुणस्तरीय सेवा प्रदायकको रुपमा विकास गर्न ५ शैयाको एचडीयू, अल्ट्रासाउण्ड, इको, इसिजी, पीएफटी, अक्सिजन प्लान्ट सहितको कार्य गरिनेछ ।’
सो अस्पतालमा ज्येष्ठ नागरिक, आर्थिक स्थिति कमजोर भएका, विपन्न नगरबासीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने, दलित अपांग, सुत्केरी तथा गर्भवती महिलाको उपचारमा ओपीडी टिकट निःशुल्क गर्ने पनि नीतिमा उल्लेख छ ।
त्यसैगरी चाँगुनारायण नगरपालिकाले कोभिड–१९ बाट ज्यान गुमाएका नगरबासीहरुका परिवारलाई काजक्रिया सहयोग स्वरुप आर्थिक सहयोग दिने भएको छ । हालै नेपाली कांग्रेसले कोभिडका कारण ज्यान गुमाउनेको परिवारलाई प्रति मृतक एक लाख सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । सोही अनुसार नीति तथा कार्यक्रममा सहयोग गर्ने उल्लेख गरेको हो । त्यस्तै नगरभित्र कम्तीमा २ वटा वडामा नयाँ ल्याब स्थापना गर्ने पनि जनाएको छ ।