भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम – शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा जोड

भक्तपुर, असार ८
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षभित्र ख्वप अस्पताललाई पुर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । उपप्रमुख रजनी जोशीले प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम नगरपालिकाको १० औं नगरसभाले पारित गर्दै च्याम्हासिंहमा निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गरी आधुनिक स्वास्थ्य उपकरणसहित अस्पताल पुर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
हाल उक्त अस्पतालले ब्रम्हायणीस्थित सामुदायिक भवनमा ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरिरहेको छ । सो युनिटमा जनस्तरको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट समेत स्थापना गरिसकेको छ ।
‘आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गरी ख्वप अस्पताललाई एउटा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न जनताको अस्पतालको रुपमा विकास गरिने’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
भक्तपुरले कोभिड युनिटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू तथा प्रयोगशाला र स्वाब परीक्षण, एम्बुलेन्स तथा शव वाहन सेवा प्रदान गर्ने कर्मचारीहरूलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने भएको छ ।
केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीहरूको लागि खोपको व्यवस्था मिलाइने, कोरोना भाइरसको तेस्रो लहरलाई ध्यानमा राखी जोखिममा पर्नसक्ने १८ वर्षमुनिका बालवालिकाहरूका लागि समेत आइसीयू र भेन्टिलेटरको व्यवस्था गरिने, घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी बनाई विद्यालय र कलेजसम्म सेवा विस्तार गर्दै लगिने नीति भक्तपुरले लिएको छ ।

नसर्ने कडा रोगहरू क्यान्सर, मृगौला, मुटु, मस्तिष्कघात, स्पाइनल इन्जुरी जस्ता रोग लागेका विरामीहरू दिइँदै आएको आर्थिक सहयोग बृद्धि गर्ने नीति भक्तपुर नपाको छ । अशक्त, अपाङ्ता भएका व्यक्ति तथा ७५ वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि घरदैलोमा चिकित्सा सेवा उपलब्ध गराइने उपप्रमुख जोशीले जानकारी दिनुभयो ।
शिक्षातर्फ नगरपालिकाद्वारा संचालित शिक्षण संस्थाहरूमा कृषि विज्ञान, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, फार्मेसी एवं मेकानिकल इन्जिनियरिङ, विएस्सी नर्सिङ जस्ता नयाँ–नयाँ विषयहरू अध्यापन स्वीकृतिको लागि प्रकृया अगाडि बढाइने भएको छ ।
भर्चुअल कक्षा सञ्चालनमा विद्यार्थीको पहुँच बृद्धि गर्न नगरका मुख्य मुख्य क्षेत्रहरूमा क्रमशः निःशुल्क वाइफाइको व्यवस्था गर्ने नीति लिएको छ । उच्च शिक्षा हासिल गर्ने गरिब परिवारका विद्यार्थीहरूलाई दिइँदै आएको रु ५ लाखसम्म शैक्षिक ऋण र भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति र नेपाल भाषा विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नगरबासी विद्यार्थीहरूलाई दिइँदै आएको पूर्ण छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिने भएको छ । ख्वप विश्वविद्यालयको स्थापनाको लागि निरन्तर प्रयास जारी राख्ने र त्यसको आवश्यक व्यवस्थाको लागि विज्ञहरूको समिति गठन गरी प्रकृया अगाडि बढाइने नीतिमा उल्लेख छ ।
विद्यालयस्तरमा कला–संस्कृति र सम्पदाको महत्वबारे जनचेतना जगाउन स्थानीय पाठ्यक्रम निर्माण, लेख रचनाहरूको नियमित प्रकाशन र विद्यार्थीहरूबीच प्रतियोगिताहरू संचालन गर्ने भएको छ ।
ब्रम्हायणी, महेश्वरी, हनुमानघाट, चुपिंघाट, मंगलतीर्थ, धाँलाखुशी, नपलीघाट, कासनघाटलगायतका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका घाटहरूको सुधार गर्दै क्रमशः व्यवस्थित गर्दै लगिनेछ । नगर क्षेत्रको पुरानो मूल सडकलाई पैदल मार्गको रुपमा विकास गरिने छ । ९९ चोक उत्खनन्बारे पनि अध्ययनको थालनी गरिने छ ।
पुराना ऐतिहासिक दस्तावेजहरूको डिजिटल रेकर्ड राख्ने व्यवस्था मिलाइने छ । भक्तपुरका टोल गल्लीहरूको प्राचीन नाम लोप हुन नदिन स्थानीय टोलवासीहरूसँग छलफल गरी पुरानै नामसहित वोर्डहरू राख्ने नीति भक्तपुर नगरपालिकाको छ ।

ऐतिहासिक र साँस्कृतिक महत्व बोकेका भनपा वडा नं. १ स्थित रानीपोखरी र भाज्या पोखरी जीर्णोद्धार कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरी सर्वसाधारण जनताले उपभोग गर्न पाउने व्यवस्था मिलाइने छ ।
नगरका ठाउँ–ठाउँमा व्यवस्थित गाडी पार्किङ निर्माण गरिने छ । दरबारक्षेत्रस्थित कला संग्रहालय रहेको न्हयकं झ्या दरबार, २०७२ अघि नगरपालिकाको कायालय रहेको थंथु दरबार, नक्सा शाखा रहेको भवन जस्ता महत्वपूर्णहरू भवनहरू २०७२ सालको भूकम्पछि क्षति भएकोमा प्राविधिक कारणले ती सम्पदाहरू पुनः निर्माण अघि बढ्न सकेको छैन । नगरपालिकाले पुरातत्व विभाग, संस्कृति मन्त्रालयसित समन्वय गरी त्यसको पुनःनिर्माण प्रकृयालाई अगाडि बढाइने छ । नेपाल विद्युत प्राधिकरणसंगको समन्वयमा तार भूमिगत गर्ने कार्य अगाडि बढाइने छ ।
अन्तर नगर खेलकुद प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइनेछ । भनपा वडा नं. ८ र वडा नं. १० मा निर्माणाधीन खेलकुद कभर्ड हलहरू यो वर्ष सम्पन्न गरिने छ र शहीद स्मृति खेल मैदानलाई डिजाइन अनुसार आधुनिक कभर्ड हल निर्माण गरिने छ ।
कृषि उत्पादनलाई भण्डारण गर्न चिस्यान केन्द्र, बिक्री वितरणका लागि उपयुक्त स्थानमा तरकारी बजारको व्यवस्था गर्ने भएको छ । छाडा चौपाया नियन्त्रण र व्यवस्थापनको लागि आवश्यक व्यवस्था गरिनेछ । किसानहरूलाई कम्पोष्ट मल, गड्यौला मल बनाउने र त्यसको प्रयोग, कौसीखेती लगायतको तालिम दिनुका साथै कृषि उत्पादन बढाउने र उत्पादित तरकारीहरू बजारसम्म पु¥याउन सहजीकरण गरिनेछ । नगरस्तरीय कृषि ल्याव संचालनको लागि आवश्यक व्यवस्था मिलाइने छ ।


नगरभित्र प्लाष्टिकको झोलाबाट भइरहेको वातावरण प्रदुषण नियन्त्रण गर्न कागज वा कपडाको झोला प्रयोगमा जोड दिइने छ । त्यसको लागि नगरभित्र संचालित सहकारी संस्थाहरूसित समन्वय गरी उपयुक्त व्यवस्था मिलाइनेछ ।
कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्दै आएकोमा आधुनिक प्रविधिको प्रयोग गरी कुहिने बस्तुहरूलाई कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई विक्री वितरण गरी आय आर्जन गर्ने श्रोतको रुपमा विकास गरिने नीतिमा उल्लेख छ ।
भक्तपुर नगरभित्र मेलम्चीको खानेपानी वितरणको लागि सम्बन्धित कार्यालयहरूसित समन्वय गरी आवश्यक व्यवस्था गर्ने उपप्रमुख जोशीले बताउनुभयो ।
आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको लागि सन्ध्याकालीन सम्पदा तथा साँस्कृतिक पदयात्राको आयोजना गरिने भएको छ । नगरका विभिन्न ठाउँहरूमा फेमिली स्टे र होम स्टेको विकास गरिने छ ।
भक्तपुर नपाले कोभिड महामारीको कारण स्थानीय पर्यटन व्यवसायमा नकारात्मक असर परेको अवस्थालाई मध्यनजर गरी आ.व. २०७८÷७९ को शुरु ४ महिनाको व्यवसाय कर छुट दिने भएको छ ।
युवाहरूलाई सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर बनाउने नीति अनुसार काष्ठकला, प्रस्तरकला, मूर्तिकला, चित्रकला, सिलाई, रेडियो–टेलिभिजन प्रस्तोता, फोटोग्राफी, भिडियोग्राफी, पथप्रदर्शक, मोटरसाइकल वर्कशप, मोबाइल फोन मर्मत, रेडियो–टेलिभिजन मर्मत, रेफ्रिजरेटर, प्लम्बिङ र बिजुली बत्तीको मर्मतलगायतका तालिम दिइनेछ ।
सडकमा जथाभावी दोपाया, चौपया छाडी फोहर गरेमा वा घरपालुवा कुकुरले सडक चोकमा फोहर गरेको पाइएमा कडा कार्वाही गर्ने र कुकुर धनीले सम्बन्धित वडामा दर्ता गर्नुपर्ने व्यवस्था गरिने भएको छ ।
नगरको विभिन्न ठाउँमा छरिएर रहेका र विभिन्न व्यक्तिहरूबाट अतिक्रमण गरिएका पर्ती तथा सरकारी जग्गाहरूको संरक्षण गरी अभिलेख तयार गर्ने र त्यसको उपयोग गरी नगरपालिकाको आय आर्जनको स्रोत बनाइने नीतिमा उल्लेख छ ।
ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणको लागि आदर निकेतनको व्यवस्था गर्ने, टेलिभिजन प्रशारण गर्ने, नगरका घरहरूको व्यवस्थित अभिलेख राखी घर नम्बरिङ गर्ने, सडकहरूको नामाकरण गर्ने भएको छ ।
नगरभित्र उत्पादित स्थानीय सामानहरूको उपयोग गरी स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने नीति लिइने उपप्रमुख जोशीले बताउनुभयो । साना तथा घरेलु उद्योगहरूलाई प्रोत्साहित गर्न स्थानीय उत्पादनहरू जुजु धौ, भादगाउँले टोपी, टाइच्यून चिउरा, हाकुपटासीको प्रवद्र्धनलाई जोड दिने नीतिमा उल्लेख छ ।