मेलम्ची र हेलम्बुमा पुनर्निर्माणको काम सरकारले नगरे कांग्रेसले शुरु गर्छ – नेता बस्नेत

भक्तपुर, असार ८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मेलम्ची र हेलम्बु क्षेत्रमा तत्काल पुनर्निर्माणको कार्य शुरु गर्न सरकारसँग माग गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरले संकलन गरेको राहत सामग्री तथा नगद नेपाली कांग्रेस केन्द्रीय विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न मंगलवार आयोजित कार्यक्रममा नेता बस्नेतले मेलम्चीको बाढीले त्यस क्षेत्रका कयौं पुल पुलेसा र सडक बगाउँदा जनजीवन कठिन बन्दै गएको बताउँदैं तत्काल पुनर्निर्माणको काम शुरु गर्न माग गर्नुभएको हो ।
उहाँले बाढीले क्षति गरेको एक साता बितिसक्दा पनि स्थानीय, प्रदेश र संघिय तिनै तहका सरकारले पुनःनिर्माणको काम शुरु नगरेको बताउँदैं सरकारले नगरे कांग्रेसले गर्ने उद्घोष समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले गर्छ भने गर्छ होइन भने कांग्रेसले गर्छ । त्यसको हैसियत कांग्रेससँग छ । हामी दाताहरु खोज्छौं, हामीलाई पत्याउँछन । हामी लाग्छौं ।’
बाढीले मेलम्ची बजार लगायत चनौटे, तालामाराङ, टिम्बु, ग्याल्थुङ जस्ता बजारमा धेरै कठिनाई भइरहेको उहाँले बताउनुभयो । उहाँले मेलम्ची बजारमा स्थानीयको घरघरमा पसेको हिलो र लेदो पन्छाउने कार्य तत्काल शुरु गर्न पनि माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विशेषगरी मेलम्चीमा लेदो घरघरमा पसेको छ । जसले गर्दा स्थानीय घरभित्र पस्न सक्ने अवस्था छैन । सरकारले कम्तिमा हिलो पन्छाउने काम गरी जनतालाई आफ्नो घरमा बस्न जाने वातावरण बनाउन सरकारसँग आग्रह गर्छु । लेदो मात्र पन्छाईदिए कम्तिमा स्थानीय जनता दिउँसो आफ्नो घरमा जाने र राती सुरक्षित स्थानमा बास बस्न सक्ने थिए ।’
उहाँले अहिले पनि नदिले कटान गरिरहेको बताउँदैं त्यसलाई रोक्न तत्काल तारजालीको व्यवस्था गरी ग्याभलिङ पर्खाल लगाउन शुरु गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, नदिले अहिले पनि सडक र स्थानीयको खेत कटान गरीरहेको छ । तत्काल नदि नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन माग गर्दछु ।’
नेता बस्नेतले स्थानीयलाई आवतजावतमा सहज बनाउन बगाएका पुल पुलेसाको स्थानमा तत्काल बेली ब्रीज राख्न समेत माग गर्नुभयो ।
उहाँले पहिरो सबै खोलामा नखसेको बताउँदैं बीचमा अड्किरहेको पहिरोको ढिस्को कुनैपनि बेला खस्न सक्ने र त्यसले पुनः खोला थुनिन गई ठूलो क्षति हुन सक्नेतर्फ सबै सचेत बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, पहिरो सबै खसेको छैन । बीचमा अडकिरहेको अवस्था छ । त्यो अहिले खस्यो भने अहिलेको भन्दा ठूलो भयावहस्थित आउन सक्छ ।
उहाँले मेलम्ची अस्पतालको स्तरोन्नती गर्न पनि सबै लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । बाढीले सडक अवरुद्ध गरेको अहिलेको अवस्थामा कोही गम्भिर बिरामी भए ओसारपसार गर्न कठिन रहेको बताउँदैं उहाँले भन्नुभयो, मेलम्चीको अस्पतालमा उच्चस्तरिय स्वास्थ्य सामग्री तथा उपकरण, ब्लड बैंक र भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्रीको व्यवस्था गर्न जरुरी छ ।


कार्यक्रममा राहत तथा नगद हस्तान्तरण गर्दै जिल्ला सभापति दुर्लभ थापाले एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने कांग्रेसको परम्परा अनुसार मेलम्ची र हेलम्बुको लागि भक्तपुरका स्थानीय कांग्रेस नेता कार्यकर्ता, भातृ संघ संस्थाका नेता कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकहरुबाट राहत सामग्री र नगद संकलन गरिएको जानकारी दिनुभयो ।
उहाँले पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्य वितरणमा जिल्लामा विवाद नभएको दावी गर्दै पार्टीको विधान अनुसार योग्यता पुगेका सबै नेता कार्यकर्तालाई स्वच्छ प्रतिष्पर्धामार्फत नेतृत्वमा आउन आग्रह गर्नुभयो । उहाँले जसले जितेपनि कांग्रेसलाई एकतावद्ध बनाएर लैजाने र नेपाली कांग्रेसलाई भक्तपुरमा निर्वाचन जिताएर स्थापित गर्न सबै नेतृत्व पंक्ति एकतावद्ध भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अधिवेशनमा प्रतिष्पर्धा गर्ने र अधिवेशनपछि पार्टीलाई एकतावद्ध र एक धिक्का बनाएर लिएर जान सबैलाई हार्दिक आग्रह गर्छु ।’