उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने – जोर बिजोर प्रणालीमा निजी सवारी चल्ने, बार अनुसार पसल खोल्न पाईने

भक्तपुर, असार ६
काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारी एक साता लम्ब्याउने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार कसेको संयुक्त बैठकले उपत्यकामा निजी सवारी साधन जोरबिजोर प्रणालीमा र अन्य व्यवसाय तथा पसलहरु समेत खोल्न पाउनेगरी निषेधाज्ञा खुकुलो बनाई एक साता लम्ब्याउने निर्णय गरेको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार अब बार अनुसार सातामा तीन दिन सबै प्रकारका पसल खोल्न पाउने भएको छ । ‘एक साता निषेधाज्ञा थपिएको छ, जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन चल्न दिने निर्णय भएको छ, बारअनुसार सबै पसलहरु खुल्ने छन् ’ उहाँले भन्नुभयो । उहाँले यो निर्णय ८ गते मंगलबारबाट लागु हुने जानकारी दिनुभयो । जारी निषेधाज्ञाको समयावधी ७ गते राती १२ बजे सकिँदै छ ।
नयाँ व्यवस्था अनुसार एक दिन बिराएर आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीको पसल खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार भने ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् ।
हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाईने छ । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने व्यवस्था गरिएको छ । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सिमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको प्रजिअ भट्टराईले बताउनुभयो ।