महिला पत्रकारलाई दुव्र्यबहार गर्नेलाई कारवाही गर्न महासंघ भक्तपुरको माग

भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले महिला पत्रकारलाइ दुव्र्यबहार गरिएको घटना प्रति घोर भत्सर्ना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । महासंघ जिल्ला सचिव संजीप घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै भक्तपुरको जगतीस्थित रेडियो हिमालयनमा कार्यरत महिला पत्रकारलाई गत असार ४ गते बिहान कार्यस्थलमा जाँदैं गर्दा अरनिको राजमार्ग आदर्श चोक नजिक बाटो छेकेर दुर्व्यवहार गरेको घटनामा दोषीलाई कारवाहीको माग गरेको हो ।
‘यहीँ असार ४ गते सूर्यविनायक नगरपालिका–८ जगातीमा रहेको रेडियो हिमालयनको बिहान ६ बजेको समाचार वाचनका लागि कार्यस्थलतपर्फ जाँदै गर्दा उहाँमाथि दुर्व्यवहार भएको घटनाले जिल्लामा महिला हिंसाको डरलाग्दो अवस्था समेत उजागर गरेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।
सूर्यविनायकदेखि जगातीसम्म जानेक्रममा अरनिको राजमार्गकै आदर्श चोक नजिक विपरीत दिशाबाट आउँदै गरेको अल्फाबेट नखुलेको ९५७३ नम्बरको मोटरसाइकलमा आएका पुरुषले बाटो छेकी अश्लील शब्द प्रयोग गर्दै दुब्र्यबहार गरेको घटना सभ्य समाजका लागि चिन्ताको विषय बनेको भन्दै महासंघले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराएपनि हालसम्म दोषिलाई पक्राउ गरी कार्वाहीको दायरामा नल्याएको प्रति आपत्ती प्रकट गरेको छ ।
‘उक्त घटनाले नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने हक र मानवअधिकारको समेत गम्भिर उलंघन भएको ठहर महासंघको रहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘एकाबिहानै राजमार्गमै महिलाले आफू असुरक्षित महशुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सम्वन्धीत सवै पक्षसँग महासंघ आग्रह गर्दछ ।