युरोकप – फ्रान्स हारबाट जोगियो

भक्तपुर, असार ५
विश्व च्याम्पियन फ्रान्स युरोकपको समूह चरणको दोस्रो खेलमा हंगेरी विरुद्ध हारबाट जोगिएको छ । पुस्कास एरिना बुडापेस्टमा शनिवार राती सम्पन्न खेलमा फ्रान्स एन्टोइन ग्रिजमनको गोलले हारबाट जोगिएको हो ।
फ्रान्सले घरेलु टोली हंगेरीलाई दवाबमा राखेपनि काउन्टरमा गोल खाँदा खेलमा पछि परेको थियो । हंगेरीले खेलको पहिलो हापको ईन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । राफयल भरानको कमजोर क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बललाई एटिला फिओलाले गोलगर्दै हंगेरीलाई १–० ले अग्रता दिलाए । हंगेरीले फ्रान्सको पोष्टमा गरेको पहिलो आक्रमणमै गोल गर्न सफल भएको थियो ।


एक गोलले पछि परेको अवस्थामा फ्रान्सलाई एन्टोइन ग्रिजमनले उद्धार गरे । ग्रिजमनले खेलको ६६औं मिनेटमा कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले फालेको लामो पासलाई दुई डिफेन्डरबीचबाट नियन्त्रणमा लिदै पेनाल्टी बक्सभित्रबाट गरेको क्रसलाई हंगेरीका विल्ली ओर्वानले क्लियर गर्ने प्रयास गरेपनि नसकेको बललाई जाली चुमाएका थिए ।
यसअघि खेलको १४औं मिनेटमा हंगेरीका गोलरक्षक पिटर गुलाक्सीले दोहोरो बचाउ गर्दा फ्रान्स अग्रता लिनबाट चुकेको थियो । केलियन एमबाप्पेको पासमा करिम बेन्जेमाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई गोलरक्षक गुलाक्सीले फुत्काएपनि रिवाउन्डमा ग्रिजमनको प्रहार उनकै हातमा पुगेको थियो । १७औं लुकास डिग्नेले मिलाइदिएको पासमा एमबाम्पेको हेड पोस्ट नजिकैबाट बाहिरियो ।
खेलको ३१औं मिनेटमा पउल पोग्वाबाट आएको पासलाई एमबाप्पेले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै फ्लिक गर्दै दिएको पासमा बेन्जेमाले वान टचमै भलीमार्फत गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा फ्रान्सले फेरी अग्रता लिन सकेन । खेलको ८१ औं मिनेटमा हंगेरीका कप्तान गुलाक्सीले एमबाप्पेको शक्तिशाली प्रहारलाई विफल पार्दै खेल बराबरीमा राखे । लगत्तै ओलिभिएर जिरुडको फितलो प्रहारमा पनि गुलाक्सीनै बाधक बने ।
समूह ‘एफ’ मा फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ । हंगेरीले दुई खेलबाट १ अंक जोेडेको छ । पोर्चुगलको ३ तथा जर्मनीको शुन्य अंक रहेको छ । यस समूहको अर्को खेल पोर्चुगल र जर्मनीबीच भइरहेको छ ।