मध्यपुर थिमिमा समूदायस्तरको परीक्षणमा ३.६६ प्रतिशतमा कोरोना संक्रमण

भक्तपुर, असार ५
मध्यपुर थिमि नगरपालिकामा शनिवार गरिएको समूदायस्तरको परीक्षणमा ३ दशमलव ६६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले समूदायमा कोरोना संक्रमणकोस्थिती पहिल्याउने उद्देश्यले १० हजार जनाको परीक्षण गर्ने लक्ष्यसहित बृहत कोरोना भाइरस एन्टिजिन परीक्षण गरेको हो ।


तर परीक्षणमा अपेक्षा अनुसार जनसहभागिता भने हुन सकेन । समूदायस्तरमा नगरका १० हजार नागरिकको परीक्षणको लक्ष्य राखेपनि अपेक्षा गरिएभन्दा निक्कै कम सहभागिता भएको पाईएको छ ।
परीक्षणमा एक हजार ३ सय जना सहभागी भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । ती मध्ये ४८ जना अर्थात ३ दशमलव ६६ प्रतिशतको नतिजा पोजिटिभ आएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


मध्यपुर थिमि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनमा नेपाल रेडक्रस सोसाईटी, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल स्काउट समेतको सहयोग र सहकार्यमा नगरका ९ वटा वडा र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा समेत गरी १० वटा बुथमा परीक्षणको व्यवस्था गरिएको थियो ।
नगरभित्र समूदायस्तरमा कोरोना संक्रमणको अवस्था विष्लेषण गरी संक्रमणको तथ्यगत अवस्था थाहा पाउन महत्वाकांक्षीरुपमा सो एन्टिजिन परीक्षण गरिएको थियो । परीक्षण नगरका १ देखि ९ वटै वडामा र कोरिया मैत्री अस्पतालमा एकै साथ बिहान १० बजेदेखि ५ बजेसम्म निःशुल्क गरिएको थियो ।


परीक्षणमा कोरोना संक्रमण देखिएकाहरुको कोरिया मैत्री अस्पतालमा निःशुल्क उपचार गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । साथै वडागत रुपमा वितरण गरिएका नौ थरी रङ्गका कार्ड बहाकलाई कोरिया मैत्री अस्पतालमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । नगरप्रमुख श्रेष्ठले वडागत विवरण भोलीसम्म सार्वजनिक गरिने जानकारी दिनुभयो ।


परीक्षणको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, सिसिएमसिका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डब, सिएमडिएनका डा. दिवेश कर्माचार्यसहितको टोलीले विभिन्न केन्द्रमा गएर अनुगमन तथा निरिक्षण गरेका थिए ।


नगरपालिकाले वडा नंं. १ को निर्मल बैँक्वेट, २ को महेन्द्र निमावि जातिगाल, ३ को वडा कार्यालयको नयाँ भवन कौशल्टार चोक, ४ को जनआदर्श क्याम्पस, ५ को भुँलाखेल पुरानो वडा कार्यालय, ६ को स्वास्थ्य चौकी, ७ को नगदेश स्वास्थ्य चौकी, ८ को बोडे शहरी स्वास्थ्य केन्द्र बोडे, र ९ को बोडे स्वास्थ्य चौकी भवनमा केन्द्र तोकिएको थियो ।