नगरपालिका आँगनैको सडक घामलाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य– स्थानीयले कार्यालयको मुलढोका अघि नारा जुलुशसहित दिए धर्ना

भक्तपुर, असार ४
मध्यपुर थिमि नगरपालिकामा विकास निर्माणका गतिविधि तिब्ररुपमा अघि बढीरहेको छ । जनप्रतिनिधिले नगरपालिका सम्हाले यताको चार वर्षमा मध्यपुर थिमिमा दर्जनौ पाटीपौवा र मठमन्दिरको पुनःनिर्माण भएका छन र त्यति नै संख्यामा नगरका ऐतिहासिक पोखरीहरुले नयाँ जीवन पाएका छन । नगरका प्रत्येक वडामा सुन्दर पार्क बनेका छन र बन्ने क्रममा छन । सांस्कृतिक सम्पदा संरक्षणमा पनि त्यति नै उत्कृष्ट काम भएका छन ।
अझ कोभिडको महामारीमा नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमार्फत नमूना योग्य कार्य गरेको छ । खानेपानीको क्षेत्रमा पनि उत्कृष्ट काम भएको छ । सडक कालोपत्रे मात्र होइन नगरका गल्ली गल्लीका बाटो समेत ढुंगा छापेर चिटिक्क बनेका छन । तर तमाम उपलब्धीलाई नगरपालिका कार्यालयको आँगनैको बाटोको दुरावस्थाले भने गिज्याई रहेको जस्तो देखिएको छ ।


नगरपालिका कार्यालय जाने मुख्य र एक मात्र यो सडक विगत केही वर्षदेखी हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने गरेको छ । यो सडकको अवस्था हेर्न लायकको छ । सडकमा ठूला ठूला खाडल बनेका छन, जहाँ पानी जमेर स–सानो पोखरी नै जस्तो भएको छ । हिलो जमेर थिलथिलो बनेको छ । सर्वसाधरण आवतजावत गर्न मात्र होइन दुई पाङ्ग्रे सवारीसाधन चलाउन समेत जोखिमपूर्ण रहेको छ । यो सडक कालोपत्रे गर्न स्थानीयले दजर्नौ पटक नगरपालिका पुगेर अनुनय विनय गरेपनि विविध कारण देखाउँदैं ढिलासुस्ती गर्दा स्थानीयले दैनिक सास्ती भोग्नु परेको स्थानीय लक्ष्मीशोभा प्रजापतिले बताउनुभयो ।


यो सडकलाई चौडा पारी कालोपत्रे गर्न दुई वर्ष अघि नै योजना परेको थियो । तर कहिले सिमांकनको विवाद त कहिले विभिन्न बहानाले यो सडक निर्माणले पुर्णता पाउन सकेको छैन, जसले गर्दा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतदेखी लिएर नगरपालिकाका सबै विभागिय प्रमुखहरु दैनिक ओहोरोदोहोर गर्ने यो सडकको अवस्था दयनीय बनेको छ ।
सो सडक यथाशिघ्र छिटो निर्माण सम्पन्न गरी कालोपत्रे गर्न माग गर्दै शुक्रवार स्थानीयले निषेधाज्ञाकाबीच नगरपालिका मुलढोका अघि नारा जुलुशसहित धर्ना दिए । नगरपालिकाको नगरकार्यपालिका बैठक चलिरहँदा बाहिर जनताले नारा जुलुस गरेका हुन ।
नगरपालिकाको आसन्न नगरसभाको विषय, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे नगरपालिकाभित्र नगरप्रमुख, उपप्रमुखसहित नगरकार्यपालिकाको बैठक बसिरहँदा बाहिर स्थानीयले धर्ना दिएर नारा जुलुस गरेका हुन ।
सडकमा उत्रिएका स्थानीयले तत्काल सडक कालोपत्रे गर्न माग गर्दै नारा लगाएका थिए । ‘दुई वर्षभन्दा धेरै भइसकेको छ, यो बाटो वर्षामा हिलाम्य र हिउँदमा धूलाम्य भएको, पटकपटक कालोपत्र गर्न माग गर्दा पनि नगरेपछि हामी आन्दोलनमा उत्रिएका हौं’ प्रजापतिले भन्नुभयो । उहाँले कहिले के कहिले के भनी नगरपालिकाले आलटाल गर्दै पन्छिने गरेको आरोप लगाउनुभयो ।


नगरपालिका कार्यालय जाने मुख्य सडक भएर पनि नगरपालिकाले प्राथमिकतामा नराखेको र सडक चौडा पारी स्तरोन्नती गर्ने नाममा साविकको कालोपत्रे समेत उप्काउँदा अहिले आवतजावत गर्न समेत समस्या भएको स्थानीयको भनाई छ ।
‘अहिले पनि बाटो खनेर खलपत्र छोडिएको छ, हामीले खानेपानीको होला भन्ने सोचेका थियौं, त्यहाँ त बिजुलीका तारहरु अण्डरग्राउण्ड गर्न लागिएको रहेछ, त्यसले अझ बाटो पीच नहुने भयो, हामीले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ?, स्थानीय शाभाले प्रश्न गर्नुभयो ।
शुरुमा सडक सिमांकन सम्बन्धी विवादले रोकिएको यो सडकको निर्माण अहिले विद्युतको तार भूमिगत गर्ने विषयमा विवाद भएकाले रोकिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यो सडक कालोपत्रे गर्न ६० लाखको टेण्डर भइसकेको जानकारी दिँदैं सडक सम्बन्धी विवाद समाधान गरी निर्माण सम्पन्न गर्न उपप्रमुखलाई जिम्मा दिएको बताउनुभयो । ‘विद्युतको तार भूमिगत गर्ने विषयमा सहमति हुने बित्तिकै सडक निर्माणको काम अघि बढ्छ,’ उहाँले भन्नुभयो ।
उपप्रमुख अञ्जनादेवी मधिकर्मीले स्थानीय धर्ना दिएपनि कार्यपालिका बैठकमा सो सडकको विषयमा केही निर्णय नभएको जानकारी दिनुभयो । बैठकमा पुर्वनिर्धारित विषयमा छलफल भएको उहाँले बताउनुभयो ।