कांग्रेसमा १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन शुरु

भक्तपुर, असार ४
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन शुरु गरेको छ । कांग्रेसको शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेपछि क्रियाशिल सदस्यता छानविन शुरु गरेको हो ।
कांग्रेसले साउन १२ गते वडा तहको अभिवेशन गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ । सोही अनुसार असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनुपर्ने समयसीमा छ । पार्टीको स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्म चयन प्रक्रिया सुरु गर्नुअघि क्रियाशील सदस्यता टुंग्याउनुपर्ने कांग्रेसको वैधानिक व्यवस्था हो ।
कांग्रेसले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता दोब्बर बनाउने निर्णय गरेको थियो । जसअनुसार १३ औं महाधिवेशनमा रहेका करिव ५ लाख रहेका क्रियाशिल सदस्यको संख्या यो पटक १० लाख पु¥याउने लक्ष्य कांग्रेसले लिएको छ । कांग्रेसले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको एकिकरण र कांग्रेस प्रवेश गरेका राप्रपा नेता सुनिल थापासहितका नेता कार्यकर्ताहरुको सदस्यता समायोजन समेत गर्नुपर्नेछ ।
त्यस्तै संघ र प्रदेशको निर्वाचनअघि अखण्ड नेपाल लगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु कांग्रेस प्रवेश गरेका थिए । ती सबैलाई कांग्रेसले ‘हैसियत’ अनुसार क्रियाशील सदस्यता दिएको छ ।
तर यसपटक जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यता (नवीकरण र नयाँ) पार्टीको सफ्टवेयरमा सिधै इन्ट्री गर्ने व्यवस्था गरेका कारण छानबिन समितिलाई सहज हुने जनाएको छ ।
समितिका अनुसार जेठ २९ गतेसम्म करिव आठ लाख सदस्यता इन्ट्री भइसकेको छ । समिति सदस्य कल्याण गुरुङका अनुसार ३ लाख ८० हजार पुराना सदस्य (नवीकरण) र ४ लाख २० नयाँ सदस्यता इन्ट्री भइसकेको छ । अझै दुई लाख क्रियाशील सदस्यता इन्ट्री हुनै बाँकी छ । बारा, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र डडेल्धुराबाट सदस्यता इन्ट्रीको काम सुरु भएको छैन । त्यस्तै काभ्रे, प्युठान, रुकुम पश्चिमलगायतका जिल्लामा पनि काम अधुरै छ ।
कांग्रेसको वडातहदेखी केन्द्रीय नेतृत्वसम्मको चयन क्रियाशिल सदस्यले गर्ने व्यवस्था छ । क्रियाशील सदस्यबाटै पार्टीका महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । तिनीहरुले नै केन्द्रीय नेतृत्व छनौट गर्ने भएकाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसमा क्रियाशील सदस्यतामै चलखेल हुने गर्छ ।
सदस्यता छानबिनलाई सहज बनाउन समितिले मापदण्ड बनाउँदैछ । मापदण्ड तयार गर्न समिति सदस्यहरु छलफलमै छन् । निश्चित मापदण्ड बनाएपछि सदस्यता छानबिन सहज हुने सदस्य गुरुङले बताउनुभयो । ‘कसरी सदस्यता टुंग्याउने भनेर हामी मापदण्ड बनाउँदैछौं । एक–दुई दिनमै बैठक बसेर यसलाई अन्तिम रुप दिन्छौं र त्यही अनुसार काम अगडि बढ्छ,’ उहाँले भन्नुभयो ।
गच्छदारलाई दिएको २५ हजार क्रियाशील सदस्यता पनि पुरानै अन्तर्गत स्वतः नवीकरण हुनेछ । पुराना सदस्यताको हकमा पार्टीले अनुशासनको कारबाही गरेका, स्थानीय, प्रदेश र संघको निर्वाचनमा विद्रोही उम्मेवार, तिनका प्रस्तावक र समर्थक, मृत्यु भएका र पार्टी परित्याग गरेकाको नवीकरण हुनेछैन । अनुशासनको कारबाही फुकुवा भएकाहरुको भने स्वतः नवीकरण हुनेछ ।
समितिले क्रियाशील सदस्यताबारे कुनै गुनासो वा उजुरी भए इमेल, भाइवर, हृवाट्सएप वा एसएमएस गर्न सक्ने व्यवस्था गरेको छ ।
कांग्रेसले क्रियाशिल सदस्यता छानविन गर्न सात सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका संयोजकबाहेक बाँकी ६ सदस्यलाई प्रदेशअनुसार जिम्मेवारी दिइएको छ । जसअनुसार प्रदेश एक र दुईको सदस्यता हेर्ने जिम्मा आनन्द ढुंगाना र जीवन परियारलाई दिइएको छ । बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेललाई जिम्मेवारी तोकिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको क्रियाशील सदस्यता हेर्ने जिम्मेवारी कल्याण गुरुङ र योगेन्द्र चौधरीलाई दिइएको छ ।