कोभिडका कारण ज्यान गुमाउने परिवारलाई एक लाख रुपैंया राहत दिन चाँगुनारायण कांग्रेसको माग

भक्तपुर, असार ३
नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले कोभिडका कारण ज्यान गुमाउने नगरवासीका परिवारको भरणपोषणका लागि प्रति मृतक एक लाख रुपैंया राहत प्रदान गर्न माग गरेको छ । कांग्रेसले बिहिवार नगरप्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र बुझाउँदैं सो माग गरेको हो ।
कांग्रेसले सबै नगरवासीको स्वास्थ्य विमाको अभियान चलाउन समेत माग गरेको छ । कांग्रेसले नगरपालिकाको आगामी नगरसभाको पहिलो लक्ष्य कोभिड नियन्त्रण, स्वास्थ सामग्रीको ब्यवस्थापन, स्थायी र भरपर्दो स्वास्थ सेवाको तथा रोग नियन्त्रणको लागि बजेट ब्यवस्थापनका लागि पर्याप्त ध्यान दिन आग्रह गरेको छ । सवै वडाहरुमा रहेको स्थास्थ्य केन्द्रको स्तरबृद्धि गरी अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड बमोजिमको परिक्षण सामाग्रीहरु, खोप लगायतको उपकरण भण्डारणको ब्यवस्थापन, उच्चस्तरीय ल्यावको ब्यबस्था गर्न माग समेत कांग्रेसले माग गरेको छ ।
नगरपालिकाको उत्तरपुर्वी भाग विकासका दृष्टिले पछि परेको उल्लेख गर्दै कांग्रेसले सो क्षेत्रमा महिला तथा बालबालिका केन्द्रीत अस्पताल खोल्न माग गरेको छ । महिलाहरुमा बढी देखिने पाठेघरको क्यान्सर र प्रसुती सम्बन्धी रोगको उपचारको लागि विशेष व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।
चाँगुनारायण ईञ्जिनियरिङ कलेज (नेक) सञ्चालन सम्बन्धमा कलेजको आयव्यय विवरण, वासलात सार्वजनिक गरी सर्वपक्षीय छलफल र कलेजबारे स्वेतपत्र जारी गर्न कांग्रेसले ज्ञापनपत्रमा माग गरेको छ । नगरभित्रको शैक्षिक संस्थाहरुको प्रभावकारीता लागि श्री कृष्ण मा.बि., चाँगुनारायण मा.बि., गणेश मा.बि. ताथली, सरस्वती मा.बि., बाल्मिकेश्वर मा.बि., चुनादेबी मा.बि., आजाद मा.बि., देबी मा.बि., गणेश मा.बि. छालिङ, डोलागिरी मा.बि., महेन्द्रग्राम मा.बि., कालिका मा.बि. लगायतका सम्पुर्ण माविहरुमा स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।
कांग्रेसले ज्ञापनपत्रमा सवै बिद्यालयमा पर्याप्त शैक्षिक सामग्रीको ब्यवस्थापन, बालबालिकाहरुको शैक्षिक गुणस्तरीयता, पर्याप्त खेलकुद, मनोरञ्जनका साधनहरुको ब्यबस्थापन गर्न भनिएको छ ।
नगरपालिका भित्र सञ्चालनमा रहेका विभिन्न खानेपानी उपभोक्ता समितिहरुलाई एकत्रित गरि सवै नागरिकहरुलाई स्वच्छ पिउन योग्य पानी उपलब्ध गराउन ठोस कार्ययोजना बनाउन आवस्यक रहेको भन्दै कांग्रेसले मेलम्चीको खानेपानीको सञ्जालमा नगरपालिकाको सहभागिता र परम्परागत पानीका मुहानको संरक्षण, ब्यवस्थापनमा ठोस पहल कदमी चाल्न माग गरेको छ । नगरपालिकाको उत्तर पूर्वी क्षेत्रमा रहेको पानीको मुल जलाधार (मुहान पोखरी, तेलकोट) ड्यामको लागि बिशेष कार्यक्रम ल्याउन जोडदार माग गरेको छ । कांग्रेसले पानीका प्राकृतिक श्रोतहरु रहेको वोजिनी, कलमसी क्षेत्रको तत्काल संरक्षण गर्न आवस्यक रहेकोले कार्ययोजना बनाउन आग्रह गरेको छ ।
ज्ञापनपत्रमा नगरपालिकाले सडक मापदण्ड निर्माण गर्दा सर्वपक्षीय छलफल गर्न आवस्यक नठान्ने र कोही कसैको लहड र स्वार्थमा मापदण्डहरुको हेरफेर भईरहेको आरोप लगाउँदैं सडक मापदण्डका बिषयमा गम्भीर हुन आग्रह गरिएको छ । कांग्रेसले सवै वडाहरुमा भक्तपुर चक्रपथको बाँकी कार्यका लागि पहल गर्न र सवै वडा छुने गरी नगरभित्र सार्वजनिक यातायात सञ्चालनको लागि पहल कदमी चाल्न तथा नगरपालिकाभित्रका गोरेटो र कच्चीबाटोको स्तरोन्नती गरी उपभोग योग्य बनाउन माग गरेको छ ।
त्यस्तै पयर्टनतर्फ ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचिकृत चागँुनारायण मन्दिरको आवश्यक पुननिर्माण तथा संरक्षण, पर्यटकीय क्षेत्र नगरकोटको विकासका लागि छिमेकी स्थानीय तहहरुसँग सहकार्य समन्वय गरी एकिकृत योजना बनाउन, नगरपालिका भित्रका सार्वजनिक पर्ति जग्गाको अतिक्रमण बढ्दै गएकोले तत्काल पर्ति जग्गाहरुको संरक्षणका लागि ठोस कदम चाल्न, दुवाकोट सरस्वती खेल हुदै चाँगुनारायण मन्दिर, तेलकोट, त्रिशुल डाँडा, कालिकादेवी मन्दिर, नगरकोट, भट्टेडाँडा, नगरकोट भंगेरी दरवार, महादेव पोखरी, कलममसी हुदै ताथली गढीसम्म पर्यटकीय पदमार्गको निर्माण, विकास र संरक्षणको लागि कार्य गर्न आग्रह गरिएको छ ।
त्यसैगरी किसानहरुलाई समयमै मल तथा बिउविजन सहज रुपमा पाउन सकिने व्यवस्था, कृषिमा आधुनिकीकरण गर्दै उन्नत खालका बिउबिजन, कृषिऔजारको ब्यवस्था गर्न माग गर्दै कांग्रेसले कृषि योग्य जमिनमा भइरहेको बस्ती विकासलाई ध्यान राख्दै सर्वपक्षीय सहमतिमा केही क्षेत्रलाई कृषि क्षेत्रको रुपमा विकास गर्न ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै २०७२ सालको भूकम्पबाट पिडित नगरबासीहरुले अझै पनि राहतका लागि समस्या भोग्नु परेको अवस्था भएकोले सो तर्फ बिषेश ध्यान दिन कांग्रेसले अनुरोध गरेको छ ।
नगरसभाबाट विनियोजित विकास बजेटहरु खर्च नहुने, पछि आफूखुसी तोकआदेशमा रकमान्तर गर्ने, वडासमितिहरुबाट आफूखुसी बिना सार्वजनिक सूचना उपभोक्ता समितिहरु बनाउने, खर्च गर्ने कार्य भै रहेकोले तत्काल यस्ता कार्य रोक्न कांग्रेसले आग्रह गरेको छ । नगरपालिकाले आफुखुसी करका दायरा बढाएकाले नगरवासी समस्यामा परेको भन्दै कांग्रेसले अध्ययन, रोजगारीका लागि विदेश जाने नागरिकहरुलाई लाग्ने सिफारिस दस्तुर छुट दिन माग गरेको छ ।
नगरपालिकाका सवै वडाहरुमा बालबालिकाहरुको लागि मनोरञ्जनात्मक बाल उद्यान, ब्यायामशाला, खेल मैदानहरुका लागि आवश्यक प्रवन्ध मिलाउन, नगरपालिका क्षेत्रभित्र रहेका मठ मन्दिर, धारा, पाटी, पौवा धार्र्मिक तथा पर्यटकीय क्षेत्रको बिकास लागि कार्यक्रम सञ्चालन गर्न पनि कांग्रेसले माग गरेको छ ।
कांग्रेसले विकास निर्माण, जनताको जिउधनको रक्षा, कोभिड महामारी विरुद्धको सबै अभियानमा राजनैतिक, सामाजिक, आर्थिक तथा अन्य बिषयमा रहेका असहमतीलाई थाँती राखी हरतरहले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि जनाएको छ ।
कांग्रेस चाँगुनारायण नगरसभापति शिवहरी केसी र नगरप्रमुखमा कांग्रेसका प्रत्याशी उम्मेदवार राजाराम खड्काको नेतृत्वमा ज्ञापनपत्र बुझाउन बागमति प्रदेशसभाका सांसद एवम् नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १का सभापति जीवन खत्री, जिल्ला उपसभापति हरिप्रसाद नेपाल, सहसचिव किरण न्यौपाने, उपप्रमुखका प्रत्याशी एवम् नेपाल महिला संघ भक्तपुरका सभापति सरु बानियालगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।