मध्यपुर थिमि नगरपालिकामा १० हजार जनाको एन्टीजिन परीक्षण गर्ने

भक्तपुर, असार ३
मध्यपुर थिमि नगरपालिकाका ९ वटै वडामा शनिवार बृहतरुपमा कोभिडको एन्टीजिन परीक्षण गर्न लागिएको छ । नगरपालिकामा कोभिड संक्रमणको अवस्था विष्लेषण गर्न नगरपालिकाले ९ वटै वडामा करिव १० हजार जनाको एन्टीजिन परीक्षण गर्न लागेको हो ।
नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापन, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाईटी भक्तपुर र नेपाल स्काउटको समन्वयमा सो परीक्षण गर्न लागेको हो । परीक्षणको रिपोर्ट तत्काल सार्वजनिक गरिने छ । त्यसका लागि ११ हजार किट नगरपालिकाले व्यवस्था गरिसकेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
समूदायस्तरमा कोरोना संक्रमणको अवस्था विष्लेषण गरी संक्रमणको तथ्यगत अवस्था थाहा पाउन महत्वाकांक्षीरुपमा एन्टीजिन परीक्षण गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । ‘समूदायस्तरमा कोरोनाको संक्रमण कस्तो छ ? सुशुप्तरुपमा कोरोना फैलिरहेको छ की छैन ? संक्रमितहरु टोलटोलमा हिँडडुल गरिरहेको छ की छैन ? भन्ने जानकारी र यसको निराकरणका लागि महत्वाकांक्षीरुपमा एकै पटक १० हजार जनाको परीक्षण गर्न लागिएको हो,’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
एन्टीजिन परीक्षणमा कोभिड संक्रमण देखिएकाहरुको तत्काल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पिसिआर परीक्षणको पनि व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एन्टीजिन परीक्षणमा कोभिड संक्रमण देखिएकाहरुको तत्काल पिसिआर परीक्षण गर्ने व्यवस्था गरेका छौं । दुई वटै परीक्षण निःशुल्क गरिनेछ ।’
यसले उपत्यकामा कोभिड संक्रमण घटेको भन्ने जुन तथ्यांक छ त्यो सँग वास्तविक वस्तुस्थित मेल खान्छकी खाँदैन भन्ने तथ्यांक र अन्वेषनात्मक रुपमो पुष्टि हुन जाने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । परीक्षणको अनुसन्धानकर्ता वैज्ञानिकहरुले पनि अध्ययन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
हाल उपत्यकामा कोरोना संक्रमण घटेको भनेर लकडाउन हटाउने तयारी भइरहेको अवस्थामा मिल्ने नमिल्ने वा कुन तहसम्म जान सकिन्छ भन्नेमा पनि नीतिगत तहमै निर्णय गर्न परीक्षणले सहज हुने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
मध्यपुर थिमि नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा ६ हजार भन्दा बढी संक्रमित भएको छ । दोस्रोमा १ हजार ७ सय जनासम्म संक्रिय संक्रमित रहेको अवस्था थियो । अहिले मध्यपुर थिमिमा सक्रिय संक्रमितको संख्या ३ सय भन्दा तल रहेको छ । संक्रमण दर ५० प्रतिशतसम्म पुगेको मध्यपुर थिमिमा अहिले घटेर ७ देखी १० प्रतिशतमा झरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।