ट्राफिक आइल्याण्डमा मोटरसाइल ठोक्किँदा एकको मृत्यु, दुई घाईते

भक्तपुर, असार ३
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ चारदोबाटोस्थित ट्राफिक आइल्याण्डमा बुधवार राती मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । घाईतेको त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु चौलाखर्क–३ घर भई हाल काठमाण्डौ काँडाघारी बस्ने २७ वर्षिय रमेश कुमार बस्नेत हुन । त्यस्तै घाईते हुनेहरुमा मोटरसाईकलमा सवार हाल काँडाघारी बस्ने उदयपुर ताप्ले गाउँपालिका–५ का २२ वर्षिय लोकेन्द्र मगराती र सिन्धुली तिनपाटन गाउँपालिका–५ का २५ वर्षिय अमित जैरु छन ।
तिब्र गतिमा काठमाण्डौंबाट भक्तपुरतर्फ आइरहेको बा ७७ प ५६०५ नं. को मोटरसाइकल आफैं अनियन्त्रित भई बुधवार राती करिव ११ बजे सडक बिचमा रहेको ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।
घटना लगत्तै दुर्घटनामा घाईते तीनै जनालाई नागरिक सामूदायिक अस्पताल गट्ठाघरमा उपचारका लागि लगिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो । नागरिकमा प्रारम्भिक उपचार पछि तीनै जनालाई थप उपचारका लागि त्रि वि शिक्षण अस्पताल पठाएकोमा त्यही उपचारका क्रममा मोटरसाइकल चालक बस्नेतको मृत्यु भएको प्रनाउ गिरीले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।