युरोकप – रसियाको पहिलो जित

भक्तपुर, असार २
युरोकपमा रसियाले फिनल्यान्डविरुद्ध १–० को झिनो जित निकालेको छ । घरेलु मैदानमा बुधवार राती सम्पन्न खेलमा रसियाले एलेक्सी मिरान्चुकको गोल मद्दतले फिनल्यान्डलाई पराजित गरेको हो ।
रसियालाई पहिलो जित दिलाउन मिरान्चुकले खेलको पहिलो हापको अन्त्यतिर सुन्दर गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इटालियन क्लब एटलान्टाका मिरान्चुकले कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा गोल गरे । मिरान्चुकले तीन डिफेन्डरबीचबाट प्रहार गरेको लेफ्ट फुटेट प्रहारले जाली चुम्दा फिनल्यान्डका गोलरक्षक लुकास ह्रादेच्कीले रोक्ने कुनै मौका पाएनन् । उनले २०१९ नोभेम्बरपछि रसियाका लागि पहिलो गोल गरेका हुन् ।
रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । च्याम्पियनसिपमा पहिलो हार बेहारेको फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।
सेन्ट पिटर्सबर्गमा भएको खेलको चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोललाई भिएआरबाट मान्यता दिएन । भिएआरले जुक्का राइटाले डलेर कुजाएभलाई बिट गर्दै दिएको क्रसमा पोहानपालोले सिक्स यार्ड बक्सभित्रबाट हेडमार्फत गोल गर्नुअघि उनी अफसाइड देखिएको थियो ।


खेलको १०औं मिनेटमा रसियाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । डलेर कुजाएभले ओभरल्यापमा जाँदै एलेक्सी मिरानचुकलाई दिएको पासमा उनले अनमार्क रहेका ओजडाइभ पास दिँदा उनको प्रहार पोस्टबाट आकासिएको थियो । १४औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो ।
यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जियम बढी गोलको आधारमा शीर्ष स्थानमा रहँदा फिनल्यान्ड हेड टु हेडमा रसिया भन्दा अघि छ । रसियाले डेनमार्कसँग तथा फिनल्यान्डले बेल्जियमसँग खेल्न बाँकी छ । बिहीबार राति बेल्जियम र डेनमार्क खेल्दैछन् ।