भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, साताभित्र एक जनाको मात्र मृत्यु

भक्तपुर, असार २
भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका छन । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना संक्रमण मुक्त भएका छन । जुन ९५ दशमलव २० प्रतिशत हो ।
संक्रमितको संख्या घटेसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत घटेको छ । यहाँ जेठ २५ गते यता एक जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । जेठ २४ गते एकै दिन तीन जनाको मृत्यु भएको थियो । त्यस यता जेठ २८ गते एक पुरुषको मात्र मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।
भक्तपुरमा हालसम्म २७७ जना कोरोना संक्रमितको मृत्यु भएको मिजारले जानकारी दिनुभयो । ती मध्ये १८० पुरुष र ९७ महिला छन । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना कोरोना संक्रमितको ज्यान गईसकेको छ । भक्तपुर नगरपालिकामा ७४ जनाको मृत्यु भएको छ । ती मध्ये ४४ पुरुष र ३० महिला छन । सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिलागरी ७५ जनाले ज्यान गुमाएका छन । त्यस्तै चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना संक्रमितको मृत्यु भएको मिजारले बताउनुभयो ।
भक्तपुरमा कोरोना संक्रमण घटेसँगैं अस्पताल र आइसोलेसन केन्द्रहरु धमाधम खाली हुन थालेका छन । स्वास्थ्य कार्यालयका अनुसार यहाँ ५७ जना मात्र अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत छन । ती मध्ये २९ पुरुष र २८ महिला छन । यहाँ सक्रिय संक्रमित मध्ये ३२५ पुरुष र ३५९ महिलागरी ६८४ जना होम आइसोलेसनमा छन ।