भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा ६ करोड जम्मा, अक्सिजन प्लान्ट आज उद्घाटन हुने

भक्तपुर, असार १
भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा करिव ६ करोड रुपैंया जम्मा भएको छ । नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आवश्यक रकम अभाव भएपछि नगरपालिकाले आर्थिक सहयोगको आह्वान गरेको थियो ।
सोही आह्वानलाई स्वीकार्दै नगरबासी, विभिन्न संघसंस्था, शुभेच्छुक एवम् शुभचिन्तकहरुले स्वतःस्फुर्तरुपमा सहयोग गर्ने क्रममा कोषमा मंगलवार दिउँसोसम्म ५ करोड ९३ लाख ९८ हजार १७६ रुपैंया जम्मा भएको नगरपालिकाले जनाएको छ । कोषमा मंगलवार मात्रै विभिन्न संघसंस्था र व्यक्तिहरुले १२ लाख ६६ हजार ३ सय ४३ रुपैयाँ आर्थिक सहयोग गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
कोषमा स्व. नाइके कृष्णमान प्रजापति किर्ति संरक्षण समिति राममन्दिर बोलाछेंले ४ लाख एक रुपैंया सहयोग गरे । त्यस्तै श्री पासा पुचः गुठी लन्डन युकेले अनलाइन टन्सफरमार्फत एक लाख ६७ हजार ९७०, श्री राजाराम जोशी र भवानी जोशी ५१ हजार १११, प्रा. डा. सर्वज्ञ भक्त मल्ल र कोमल बदन मल्ल ५० हजार १११, कृष्णलाल प्रधान ३० हजार, हरिश्रेणीलाल श्रेष्ठ ३० हजार, धर्मभक्त बल्ल २५ हजार, भक्तपुर विकास सहयोग संघ एक लाख २५ हजार, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले एक लाख ५० हजार, भक्तपुर जिल्ला मानन्धर युवा संघ ३३ हजार ३५५ र बेल्जियम निवासी ज्ञानेन्द्र÷जोई प्रजापति, एलिन, टोम सराह, क्रिस्टोफ, बी, जेफ, कट्रिइन, जेरोइन, असवार्ड, विल्मा, सुरेन र निरनले ८४ हजार सहयोग गरेको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
यसैबीच ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान भई अक्सिजन उत्पादन हुन थालेको छ । प्लान्टको परीक्षण सफल भएको र आजै मंगलवार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्दैछ ।
भक्तपुर नगरपालिकाले उक्त अक्सिजन प्लान्ट चीनको छेन्दुस्थित कम्पनीबाट सिधा खरिद गरेको हो । नगरपालिकाले सिधै कम्पनीमा सम्पर्क गरी त्यहाँको व्यवस्थापनसँग प्रस्ताव पेश गरी मोलमोलाई गरी खरिद गरेका हौं । ‘यसमा हामीलाई कम्पनीदेखी ग्राहकसम्मका बीचका कम्पनी वा सहजकर्ता, आयातकर्ता कसैको पनि सहभागिता नभएकाले बजार मूल्यभन्दा केही कम मूल्यमा पनि पाएका छौं,’ उहाँले भन्नुभयो ।