ईन्टरनेटको पहुँच नहुँदा विपन्न वर्गका विद्यार्थी शिक्षाबाट बञ्चित

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि त्यसको नियन्त्रण र रोकथामका लागि काठमाण्डौं उपत्यकामा बैशाख १६ गतेदेखी जारी गरिएको निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा ईन्टरनेट र स्मार्ट मोवाईल सेटको पहुँच नभएका विपन्न वर्गका भक्तपुरका सयौं विद्यार्थी पढाईबाट मात्र होइन वार्षिक परीक्षाबाट समेत बञ्चित भएका छन ।
लक्ष्मी गारु, भक्तपुर, असार १

सुविन र ओम सैंजु दुई दाजुभाई हुन् । उनीहरु दुवै जना भक्तपुर नगरपालिका–१०, कमलनिायकस्थित बागेश्वरी माध्यामिक विद्यालयको कक्षा ४ र १ मा अध्ययनरत छन । सूर्यविनायक नगरपालिका–८, जगातीस्थित हनुमानचामा बस्ने सैंजु दाजुभाईका बुबाको ३ वर्ष अघि जण्डिसका कारण निधन भयो । सैंजुका आमा लक्ष्मी ईंटाभट्टामा चिया पसल चलाउँछिन । यसवर्ष कोरोनाको जोखिमका कारण व्यवसायीले ईंटाभट्टा सञ्चालन नगर्दा लक्ष्मीको पसल पनि बन्द भएको छ ।

सैंजु दाजुभाई

आयस्रोतको एक मात्र बाटो चिया पसल बन्द भएपछि अहिले उनीहरुलाई दैनिक गुजारा चलाउन समेत धौ धौ छ । दैनिक ज्याला मजदुरी गरेर दुई छोराहरुको लालनपालन गर्दै आएकी लक्ष्मीले घरमा ईन्टरनेट जोड्न र छोराहरुलाई स्मार्ट मोवाईल सेट जोडिदिन नसक्दा सैंजु दाजुभाईको पठनपाठन समेत बन्द भएको छ । उनीहरुको पढाई मात्र छुटेको छैन परीक्षा दिन समेत बञ्चित हुनुपरेको छ ।
‘चिया पसल बन्द भएपछि कमाई भएन, ज्याला मजदुरी गर्थे त्यो पनि लकडाउनले गर्दा बन्द छ । दैनिक छाक टार्न मुस्किल भएको बेला नेट जोड्ने, मोवाईल फोन किन्ने पैसा कहाँबाट जोहो गर्ने ?’ लक्ष्मीले प्रश्न गरिन ।
छिमेकीको सहारा लिएर छोराहरुलाई पढाउँ भन्दा पनि छिमेकीको घरमा समेत नेट नभएकाले सम्भव नभएको उनले बताईन । ‘हामी बसेको ठाउँमा जम्मा दुई घर छौं । नेट राख्ने कोही छैन । राख्ने हैसियत पनि छैन । पैसा नभएरै बच्चाहरुलाई सामुदायिक विद्यालयमा पढाएको हो । क्षमताले भ्याए त बोर्डिङ्ग स्कुलमा पढाउने मेरो पनि ठूलो रहर छ । नेटको के कुरा गर्ने ? मसँग भएको मोवाईल यही हो,’ भन्दै पुरानो मोडलको मोवाइल सेट देखाईन ।
सौगात नगरकोटीले पनि निषेधाज्ञा जारी भए यता पढ्न पाएको छैन । उनी बागेश्वरी माविको कक्षा ३ मा पढ्छन । निषेधाज्ञाले विद्यालय बन्द भएपछि विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेपनि सौगातले पनि नेट र स्मार्ट मोवाइल फोन नहुँदा पढ्न नपाएको हो ।

सौगात नगरकोटी

सौगातको घर काठमाण्डौंको डाँछीमा हो । उनको बुबा दैनिक ज्याला मजदुरीको काम गर्छन । भक्तपुरमा डेरा लिएर बस्दै आएका सौगातले गत वर्षको लकडाउनमा पनि पढ्न पाएन, कारण उही इन्टरनेट र स्मार्ट फोन थियो । केही समय पाल्पामा मजदुरी गरेर निषेधाज्ञाकै कारण फर्किएका सौगातका बुबा अजय नगरकोटी भन्छन, ‘श्रीमती गर्भवती छिन् । दैनिक गुजारा गर्न गाह्रो छ । कोठा भाडा तिर्नुपर्छ । यस्तो बेला कसरी छोरालाई ईन्टरनेट राखेर कक्षा लिन लगाउने । अहिले परीक्षा भइरहेको छ । इन्टरनेट नभएका कारण परीक्षा पनि दिलाउन सकेको छैन । अव नयाँ भर्ना खुलेपछि छोरालाई दोहो¥याएर पढाउनु पर्ला जस्तो छ ।’
परीक्षा दिन प्रिन्सिपलको मोवाईल, छिमेकीको ईन्टरनेट
१२ वर्षिया दिया तण्डुकार माउण्ट भ्याली ईङ्गलिस स्कुलको कक्षा ४ मा अध्ययनरत छिन । जेहेन्दार र कक्षाका उत्कृष्ट विद्यार्थी भएका कारण उनलाई छात्रवृत्ति पनि उपलब्ध गराएको छ । पढाईमा निक्कै रुची राख्ने दियाको पनि निषेधाज्ञासँगै पढाई छुटेको थियो । विद्यालयले पटक पटक ताकेता गरेपनि दियाकी आमा दिव्यश्वरीले छोरीको लागि न त इन्टरनेट नै जडान गर्न सकिन न त एउटा गतिलो मोवाइल सेट किनेरै दिन सकिन ।
दियाका बुबाको ६ वर्ष अघि ह्दयघाटका कारण मृत्यु भएको थियो । जग्गा जमिन नभएका उनकी आमा स्थानियको घरमा लुगा धुने, घरसफाई गर्ने र सुत्केरी स्याहारसुसारको काम गर्छिन । यी कामले सामान्य घरको खर्च टार्दै आएकी उनकी आमा दिव्यश्वरीले छोरीको लागि आवश्यक स्मार्ट मोबाइल किनिदिने क्षमता नभएको बताइन् । उनले भने, ‘जसोतसो छोराछोरी र मेरो पेट भर्न अर्कोको घरमा गएर सरसफाई गर्ने, लुगाधुने, सुत्केरीलाई तेल लगाएर अलि अलि जोगाएको पैसा पनि सकियो । समय यस्तो छ, काम छैन । जग्गा जमिन छैन । घर खेत छैन । माइतीले दिएको सानो घरमा अहिले मिलाएर बसिरहेका छौं । दैनिक गुजारा गर्न नै नसकिरहेको समयमा छोराछोरीको लागि ठूलो मोबाइल र ईन्टरनेट कसरी जडान गर्ने ?’

दिया तन्डुकार

दियाले पढाईलाई नियमित गर्न नसकेपनि परीक्षा दिन बाट बञ्चित भने नभएको दिव्यश्वरीले बताईन । दियाको परीक्षाको लागि प्रिन्सिपल स्वयम्ले आफ्नो मोवाइल दिएको दिव्यश्रीले जानकारी दिईन ।
‘विद्यालयबाट पटक पटक फोन आएपछि प्रिन्सिपलसँग कुरा गरेर अन्तिम परीक्षा एउटा दिलाउन उहाँले नै मोबाइल दिएर पठाउनु भएको छ । परीक्षा सकेपछि फिर्ता गर्न जानुपर्छ,’ उनले भनिन् ‘परीक्षा भरीको लागि सँगै घर भएका एकजना भाईसँग कुरा गरेर एकसय रुपैयाँ दिन्छु, परीक्षा सकेपछि नेट काट्नु भनी अहिले अन्तिम परीक्षा दिलाइराखेको छु ।’ गएको वर्षपनि लकडाउन हुँदा पढाउन नसकिएको उनले बताईन ।
दिया भन्छन्, ‘म सानो हुँदादेखि बुबा नभएका कारण बुबाआमा भएर मम्मीले पढाइराख्नु भएको छ । मम्मीलाई पनि कत्ति भन्नु । अनलाईन कक्षा लिन नसकेपनि मैलै घरमा मेरो किताबहरु अध्ययन गरेकी छु । भाइलाई पनि पढाउँछु ।’
कोरोना भाइरसको महामारीले धेरै प्रभावित पारेको क्षेत्र मध्ये शिक्षा क्षेत्र पनि प्रमुख हो । गतवर्ष लामो समय लकडाउन हुँदा विद्यालयको नियमित पठनपाठन बन्द मात्र भएन परीक्षा समेत प्रभावित बनेको थियो । कक्षा १० को एसईई परीक्षा समेत विद्यालयको आन्तरिक मुल्यांकनबाट सम्भव भएको थियो । सरकारले गतवर्ष नै लकडाउनका बेला पठनपाठन सुचारु गर्न विभिन्न वैकल्पिक उपाय अपनाउने नीति ल्याएपनि निम्न वर्गिय र दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनु पर्ने हजारौं परिवारका छोराछोरीहरु शिक्षाबाट बञ्चित भएका केही उदाहरण मात्र हुन, दिया, सौगात र सैंजु दाजुभाई ।
अनलाइन परीक्षा छुटेकालाई विद्यालय खुलेपछि लिईने
गतवर्ष लकडाउनका कारण शैक्षिक क्षेत्र प्रभावित बनेपछि सरकारले शैक्षिक सत्र समेत हेरफेर गरेको थियो । सोही अनुसार असारदेखी नयाँ शैक्षिक सत्र शुरु हुनेभएपछि विद्यालयहरुले जेठको दोस्रो सातादेखी अनलाइनमार्फत भएपनि परीक्षा सञ्चालन गरेका थिए । वागेश्वरी माध्यामिक विद्यालयका प्राथमिक तहका इन्चार्ज कृष्णमान मलेपतिले अनलाईन कक्षामा उपस्थित भएका बिद्यार्थीहरुको जेष्ठ १६ गतेदेखि अन्तिम परीक्षा लिएको जानकारी दिए ।
उनले अनलाईनमा उपस्थित नभएका विद्यार्थीहरुको अन्तिम परीक्षा विद्यालय खुलेपछि भौतिक रुपमा लिने बताए । उनले भने, ‘वागेश्वरीमा पढ्ने अधिकासं विद्यार्थीहरु मजदुर वर्गका भएकाले प्राय विद्यार्थीहरु इन्टरनेटको पहुँचबाट टाढा छन । उनले विद्यालयमा करिब ७० प्रतिशत मजदुर वर्ग र ३० प्रतिशत मात्र स्थानीयका छोराछोरी अध्ययनरत रहेको बताए । केही विद्यार्थीहरु अभिभावकसँगै गाउँ गएका कारणले पनि दुई चरणमा परीक्षा सञ्चालन गर्नुपरेको उनले बताए ।
भक्तपुर नगरभित्र ४ प्रतिशत विद्यार्थी अनुपस्थित
भक्तपुर नगरपालिका भित्र सामुदायिक विद्यालयको कक्षा ८ बढ्ने ४ प्रतिशत विद्यार्थी परीक्षामा सामेल नभएको नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाले बताए । ती अनुपस्थित विद्यार्थीहरुको छुट परीक्षा लिएर नतिजा प्रकाशन गरिने उनले जानकारी दिए । उनले भने, ‘कक्षा ८ को विद्यार्थीहरुको हकमा लगभग ९६ दशमलब उपस्थित भएको देखिन्छ । बाँकी छुटेका केही विद्यार्थीहरुको हकमा होम असाइन्मेट र छुट परीक्षा लिएर नतिजा प्रकाशित गछौं ।’
उनले नगरपालिकाको सहयोगमा स्थानीय भादगाउँ टेलिभिजनमार्फत कक्षा सञ्चालन गरिएकाले ईन्टरनेटको पहुँच नहुने विद्यार्थीलाई शिक्षा लिन सहजता भएको बताए । त्यस्तै कक्षा १, २, ३ का लागि सबै साुमदायिक विद्यालयमा वर्कसित वितरण गरी सहजता पु¥याएको र सबै विद्यालयहरुले आन्तरिक मुल्याङन अनुसारै परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था गरिएको निरौलाले जानकारी दिए ।
चाँगुनारायण नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विरबहादुर खड्काले विद्यार्थीहरु विद्यालयमा उपस्थित हुँदा उनीहरुको हरेक क्रियाकलापको मुल्याङकन अनुसार विद्यार्थीहरुको नतिजा निकाल्ने योजना रहेको बताए । नगर परीक्षा परिषदले एउटा कार्य विधिको ढाँचा निर्माण गरेको छ । यही ढाँचा अनुसार कक्षा ८ को नगर स्तरीय परीक्षा नपाबाटै लिइन्छ । अरु बाँकी सबै विद्यालयहरुमा विद्यार्थीहरुको क्रियाकलापका आधारमा विद्यालयहरुले नै नतिजा प्रकाशन गर्ने व्यवस्था गरेका छौं, उनले भने ।
मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र बनले विद्यार्थीहरुको उपस्थिति, मासिक, त्रैमासिक, प्रिवोर्ड परीक्षा र गएको दोस्रो त्रैमासिकसम्मको परीक्षाको नतिजा लगायत उनीहरुको क्रियाकलापको आधारमा नतिजा प्रकासित गरिने जानकारी दिए ।

तल्लो तहका बढी अनुपस्थित
नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) भक्तपुरका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले प्याव्सन अन्तर्गतका विद्यालयहरुमा तल्लो तहका विद्यार्थी अनलाइन कक्षा र परीक्षामा सहभागी हुन नसकेको बताए। ‘विद्यार्थीहरु विद्यालयमा उपस्थित हुँदा र अहिले भर्चुअल कक्षा सञ्चालन गर्दा अलि कठिनाई भयो,’ उनले भने, सबैको घर घरमा ईन्टरनेटको पहँच त हुन्छ भन्ने पनि भएन।’
यस समस्याको सम्बोधन सरकारबाट पनि नभएको उनले गुनासो गरे। विद्यालयहरुले सम्भव भएसम्म सम्पर्क गरेर नजिकको आफन्त, साथीभाई र छरछिमेकमा राखेर सयुंक्त रुपमा तीनजना सम्म राखेर परीक्षा लिनुपरेको अनुभव उनले सुनाए। उनले साना कक्षामा अनुपस्थित भएका विद्यार्थीहरुको लागि उनीहरुको क्रियाकलापको आधारमा विद्यालयको उपस्थितिको आधारमा मुल्याङन गर्ने विधि अपनाएको जानकारी दिए।