काठमाण्डौं तार्केश्वरबाट नक्कली डिएसपी पक्राउ

भक्तपुर, असार १
आफुलाई प्रहरीको नायव उपरिक्षक (डिएसपी) हुँ भन्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले सोमवार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डौंको तार्केश्वर नगरपालिका–६ जरंगुबाट नक्कली डिएसपी ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा. एस के ढुंगानालाई पक्राउ गरेको हो ।
प्रहरीले ढुंगानाको साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
ढंगानाले सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने गरेको पाईएको एसपी कोइरालाले बताउनुभयो । ढुंगानाले आफु प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘उसले आफ्नो फेसबुकमा पनि डिएसपीको लुगा लगाएको फोटो राखेको रहेछ,’ एसपी कोइरालाले भन्नुभयो, ‘फेरि आफैँले आफ्नो बढुवा भएको भनेर फोटो पनि राखेको पायौं ।’


ढुंगानाले तर्केश्वरको जरंगुमा भिक्टोरिया फार्मेसी समेत सञ्चालन गर्दै आएका छन । तर, पक्राउ परेपछि ढुंगानाले सो फार्मेसी आफ्नो नभएको प्रहरीलाई बताएका छन् । ढुंगानासँग चिकित्सकमा हुनुपर्ने योग्यता नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ढुंगानाले आफुलाई डाक्टर एसके ढुंगाना र मेडिकल डाईरेक्टर भनेर समेत चिनाउने गरेको अनुसन्धानमा खुल्न आएको एसपी कोइरालाले बताउनुभयो । ढुंगानाबाट कोही ठगीएको भए प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ । ढुंगानामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।