उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)

भक्तपुर, जेठ ३१
सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । काउखालिले आज सार्वजनिक सूचना प्रकाशन गरी उपत्यकाका केही स्थानमा १२ दिनमा एक पटक पानी आउने जानकारी दिएको हो ।
तालिका अनुसार थिमिको बोडेबाट ७ दिन बिराएर थिमि र भक्तपुर नगरमा पानी वितरण गरिने छ भने भक्तपुर वितरण केन्द्रबाट ४ दिन बिराएर सल्लाघारी, सूर्यविनायक र भक्तपुर नगरमा वितरण गरिनेछ ।
महाँकालचौरबाट ७ दिन बिराएर पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी, सिफल कालोपुल, चावहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिकागाउँमा खानेपानी वितरण गरिने छ ।
मिनभवनबाट ७ दिन बिराएर बानेश्वर, बुद्धनगर, शंखमुल, थापागाउँ र कुरियागाउँमा वितरण गरिनेछ । त्यस्तै ५ दिन बिराएर बाँसबारीबाट महाराजगंज, बाँसबारी, बालुवाटर र पानीपोखरी तथा पानीपोखरीबाट रानिबारी, लाजिम्पाट, नर्सरीचोक, गैरिधारामा खानेपानी वितरण गरिने छ ।
बालाजु क्षेत्रमा ९ दिन बिराएर पानी आउनेछ । तालिका अनुसार एराहिटी, बनस्थली, चमती, स्वयम्भू, बाफल, ताहाचल, नयाँबजार, सोह्रखुट्टे र पकनाजोलमा बालाजुबाट पानी वितरण हुनेछ ।
किर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी दिनेछ ।किर्तिपुरको भाजाङ्गगाल, पाँगा, चिलन्चो, उमामहेश्वर, देवढोका र त्याङ्गला किर्तिपुर वितरण केन्द्रबाट पानी वितरण गरिनेछ ।
सैंबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर ललितपुर, सानेपा, मंगलबजार, कुपन्डोलमा पानी आउने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी नआउने भएपछि पानी वितरणको कमी आएको खानेपानी लिमिटेडले जनाएको छ । सुरुङ खाली गरेर परीक्षण गर्नुपर्ने भएकोले करिब दुई महिना मेलम्ची पानी नआउने बताइएको छ ।

हेर्नुहोस तालिका