गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने

भक्तपुर, जेठ ३१
विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताउनुभएको हो ।
जोनसनले ती खोप केही कोभ्याक्स कार्यक्रम र केही सिधै दिन सकिने जानकारी दिनुभयो । उक्त परिणाममा बेलायतले मात्र १० करोड मात्रा उपलब्ध गराईने जोनसनले बताउनुभयो । “विश्वलाई खोप लगाउने यो अर्को महत्वपूर्ण कदम हो,” जोनसनले भन्नुभयो ।
उहाँले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै विश्वकै सबैभन्दा लोकप्रिय खोपको संज्ञा दिनुभयो । लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई ‘उदारतापूर्ण कार्य’ भएको बताउनुभयो । उहाँले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताउनुभयो ।