युरोकप –समूह सीको खेलमा नेदरल्यन्ड्स र अष्ट्रिया विजयी

भक्तपुर, जेठ ३०
युरोकप अन्र्तगत आइतवार राती सम्पन्न समूह सीको रोमाञ्चकारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आम्स्टरड्याममा सम्पन्न खेलमा युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि अन्ततः नेदरल्यान्ड्सले ३–२ को जित निकाल्न सफल भएको हो ।
खेलमा सम्भव पाँचै गोल दोस्रो हापमा भएको थियो । पहिलो हापमा एकपछि अर्को आक्रमण बुनेर युक्रेनलाई दवाबमा राखेपनि गोलरक्षक जर्ज बुस्कान बाधक बनेपछि नेदरल्यान्ड्सले गोल गर्न सकेन ।


दोस्रो हाफको ५२ औं मिनेटमा भने कप्तान वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । देन्जेल डमफ्रिजको क्रसलाई गोलरक्षक बुस्कानले बचाएपनि रिबाउन्डमा वान टचमा वाइनाल्डमले शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । त्यसको सात मिनेटपछि नै घरेलु टोलीले अग्रता दोब्बर पा¥यो । वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र क्लिअर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए । गोल गर्नुअघि डम्फ्रिजले फल गरेको भन्दै युक्रेनका खेलाडीले विरोध गरेअनि रेफ्रीले भीएआरको सहयोग लिँदा गोलले मान्यता पाएको थियो ।
खेलको ७५ औं मिनेटमा रोमन यारेम्चुकको पासमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए । त्यसको ४ मिनेट नबित्दै यारेम्चुकले रुस्लान मालिनोभ्स्कीको क्रसलाई हेडरमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
तर खेल सकिन ५ मिनेट बाँकी रहँदा डेन्जेल डमफ्रिजले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए । उनले नाथन आकेको पासमा गोल गरे र टोलीलाई महत्वपूर्ण जितका साथ तीन अंक दिलाए ।
अष्ट्रिया नर्थ म्यासेडोनियाविरुद्ध ३–१ ले विजयी
समूह सी कै पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको छ । अष्ट्रियालाई खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अग्रता दिलाएका थिए । उनले मार्सल साबिट्जरको क्रसलाई फार पोस्टबाट गोल गर्न सफल रहेका थिए । त्यसको १० मिनेटपछि नै म्यासेडोनियाले बराबरी गोल फर्कायो । कप्तान गोरान पान्डेभले पेनाल्टी क्षेत्र भित्र गोलरक्षकले बचाउन नसकेको बललाई सहजै गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए ।


अष्ट्रिया पुनः अग्रता लिन खेलको ७८ औं मिनेट कुर्नुप¥यो । ७८ औं मिनेटमा दायाँ विंगबाट कप्तान डेविड अलाबाले गरेको उत्कृष्ट क्रसलाई ग्रेगोरीचले पहिलो टचमै बललाई जाली चुमाएपछि अष्ट्रिया पुनः अग्रता बनाएको हो । ८९ औं मिनेटमा कोन्राड लाइमरले फ्लिक गर्दै डिफेन्सलाई बिट गरेपछि प्राप्त पासलाई अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियाको जित पक्का गरे ।


अष्ट्रियाले युरोपेली च्याम्पियनसिपको इतिहासमा पहिलो जित दर्ता गर्न सफल रहयो । तेस्रो पटक युरो खेलिरहेको अष्ट्रियाले डेब्यु गरिरहेको म्यासेडोनियालाई हराउनुअघि २ जित र ४ हारको नतिजा बेहोरेको थियो । यस जितसँगै अष्ट्रियाले समूह सी मा ३ अंक जोडेको छ ।